राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक (तालिकासहित)

कुन दलबाट कति सांसदको सकिंदैछ कार्यकाल ?


२ पुष २०७६, बुधबार
Election Nirwachan

काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसका सातसहित १९ सांसदको कार्यकाल फागुनमा सकिंदैछ । पदावधि सकिन लागेका सांसदमा नेकपाका आठ, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एक छन् ।

७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी एक हजार ५०६ जना र प्रदेशसभाका ५५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् । स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार जोड्दा ५३ हजार ५०८ हुन्छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ । तीन जना भने मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । स्थायी सदन राष्ट्रियसभाका लागि पहिलो पटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ ।
फागुन २० गते क–कसको सकिँदै कार्यकाल ?
दुई वर्षे कार्यकाल समाप्त हुन लागेकामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा छन् ।

सत्तासीन नेकपाका आठ जना सांसदको कार्यकाल सकिंदै छ । नेकपाका बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिंदै छ ।

यस्तै राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रीत पासवानको पनि २ वर्षको कार्यकाल सकिन लागेको हो । ९ माघमा नयाँ सांसद चुनिए पनि पुरानाको कार्यकाल भने फागुन २० सम्म रहने छ । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
हेर्नुस् यस्तो छ कार्यतालिका

rastriya shabha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७