नेतृत्वका कमरेडहरु, उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक एक वर्षपछि २९ मंसिर २०७६ देखि जारी छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटि सदस्यहरुले बोल्ने क्रम जारी छ ।  स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीको पुनर्निर्माणबारे प्रस्ताव बैग्लै लिखित प्रस्ताव राखेका छन् । १ पुस २०७६ मा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा स्थायी कमिटी सदस्य भुसालले लिखित प्रस्ताव नै पेश गरेका हुन्  प्रस्तावको पूर्ण पाठ :- 

कमरेड अध्यक्ष,
क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पथ्र्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन् ।

एउटा राजनीतिक पार्टीले सामना गर्नु पर्ने अनगिन्ती समस्या हुन्छन् तर तिनको अध्ययन र समाधान भने विचार र सङ्गठनको एउटा निश्चित ढाँचाबाट गर्छ । अहिले समस्या नयाँ नयाँ रुपमा आएका छन् तिनको समाधान पुरानै ढाँचाबाट समाधान खोज्दा हामी अझ समस्याग्रस्त हुँदै जानेछौँ । त्यसर्थ, हामीले आफुलार्ई नयाँ ढाँचामा उभ्याउन हिम्मत गर्नै पर्छ ।

आज नेपाल कम्युनिष्ट पार्टी जुन ऐतिहासिक जहाँ उभिएको छ त्यो असाधारण सम्भावना र चुनौतिको बिन्दु हो । हामीले जे गर्दै छौँ त्यो विश्वकै कम्युनिष्ट आन्दोलनमा मौलिक छ । जसरी हाम्रा उपलब्धीहरु हाम्रो आफ्नो बाटो र अनुभवमा आधारित छन् त्यसैगरी हाम्रा चुनौति पनि अरुका भन्दा फरक छन् । राजनीतिक पार्टीहरु सत्तामा पुगेपछि जनतासँग आफैले गरेका बाचाहरुको कठिनतम परिक्षामा सामेल हुन्छन् । आज हामी त्यहि परिक्षामा छौँ । गएका दुई बर्ष हामी अलमलिएको जस्तो देखिएका छौँ । बाँकि समयको हरेक क्षण हाम्रा लागि असाधारण महत्वका छन् ।

नेपालको कम्युनिष्ट पार्टीको मौलिकता के छ भने हामीले अन्य बुर्जुवा पार्टीहरुसँग सहकार्य गरेर जनवादी क्रान्ति सम्पन्न गरेका छौँ, हाम्रै नेतृत्वमा संविधान घोषणा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ र कम्युनिष्ट पार्टीको बहुमतका साथ संघीय, प्रादेशिक र स्थानीय तहमा पर्याप्त बहुमतका साथ सरकार बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आवश्यकता अनुरुप कैयन् कानूनहरु बनाइएका छन् । विदेश सम्बन्धमा हामीले-हाम्रो सरकारले जुन बाटो तय गरेको छ त्यो ऐतिहासिक महत्वको छ । आगामी दिनमा त्यसको महत्ता अझै स्पष्ट हुँदै जानेछ । सङ्क्षेपमा, हामीले गणतन्त्रलाई संस्थागत गरेका छौँ, राजनीतिक स्थीरता कायम गरेका छौँ र लामो समयपछि वैदेशिक मामिलामा मुलुक ठिक ठाउँमा उभिन शुरु गरेको छ ।

हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरुले भविष्यका चुनौतिलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्तिहरु ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनु भन्दा क्रान्तिकारी भैरहनु धेरै गाह्रो हुन्छ । क्रान्तिबाट आएको हाम्रो पीँढीले अझ बढी त्याग गर्न आफु तयार भएको र त्यसका लागि तयार रहन आम जनतालाई आह्वान गर्नु पथ्र्यो । किनकि त्यसले हामीलाई क्रान्तिमाथि खेलबाड हुनसक्ने खतराबाट जोगाउँछ ।

क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब–किताब चुक्ता गरिहाल्दैन बरु खातामात्रै खोल्छ । यस कुरामा भने हाम्रा विगत दुइवर्ष सन्तोषजनक रहेनन् । यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौँ भन्ने देखिन्छ । कमरेडहरु ! खासगरी नेतृत्वका कमरेडहरु ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ !

गएको दशवर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिकरुपमा डोर्‍याएको छ । सामन्तवाद अन्त्य भएको र समाज पुँजीवादी भएको तथ्यलाई हामीले देखेको हुँदा त्यो निष्कर्षमा पुगेका थियौँ । तर त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई हामीले राजनीति र सङ्गठनका क्षेत्रमा स्थापित गर्न सकेनौँ । पूर्व नेकपा एमाले र नेकपा माओवादी मात्रै होइन आजको एकिकृत पार्टीले पनि त्यो काम जिम्मेवारी पूर्वक गर्न सकेन । सिद्धान्तको सत्यतालाई सैद्धान्तिक रुपले मात्रै पुष्टि गर्ने पद्दति माक्र्सवादी पद्दति होइन । मार्क्सवादले हरेक सैद्धान्तिक निष्कर्षको परिक्षण वास्तविक जीवनमा खोज्छ । हामीले अहिले ‘नेपाल अर्ध सामन्ती–अर्ध औपनिवेशिक रहेन, यो पुँजीवादी भैसक्यो, जनवादी क्रान्ति सम्पन्न भयो, हाम्रो आगामी कार्यभार समृद्धि र समाजवाद हो’ जस्ता पदावलीहरुलाई दोहोर्‍याइरहेका छौँ, त्यसै वरिपरी चक्कर लगाइरहेका छौँ । त्यस बाहिर हेर्नै छोडेका छौँ । त्यसले गर्दा सिद्धान्त, राजनीति र सङ्गठनका क्षेत्रमा एकसाथ गतिरोध, अस्पष्टता र अराजकता देखिँदैछ ।

नेपाली समाज पुँजीवादी हो तर यो उत्पादक/राष्ट्रिय पुँजीको वर्चस्व भएको समाज होइन । बरु यो अनुत्पादकरदलाल पुँजीको वर्चस्व भएको पुँजीवाद हो । राष्ट्रिय पुँजीको विकास नगरी समाजवादको आधार तयार हुँदैन तर राष्ट्रिय पुँजीको विकासले मात्रै समाजवादको ग्यारण्टी गर्दैन । त्यसैले हाम्रा अगाडि राष्ट्रिय पुँजीको विकास गर्ने र अर्कोतर्फ समाजवादको आधार तयार गर्ने कार्यभार छ । यो कार्यभार नै आज बाँचेको हाम्रो पीढीको अभिभारा हो । यसलाई आवश्यकरुपले विस्तार गर्दा रणनीति, कार्यनीति, कार्यभार, न्यूनतम र अधिकतम कार्यक्रमजस्ता विषय स्वतः समाधान हुनेछन् ।


यो पुुँजीवादको खास चरित्र दलाल पुँजीवादी छ भन्नुको अर्थ के हो भने आर्थिक क्षेत्रमा मात्रै होइन, त्यसले आफुजस्तै राजनीति, कानूनी तथा न्यायिक व्यवस्था, कर्मचारीतन्त्र, बौद्धिक तथा नागरिक समाज, संस्कृति र सामाजिक चेतनाका बहुविध रुपहरु बनाएको छ । हरेक उत्पादन पद्धतिले आफुलार्ई निरन्तर पुनरुत्पादन गरिरहन्छ । दलाल पुँजीवादले पनि आफु अनुकुलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियानकर्ताहरु पनि जन्माइरहन्छ । आजको कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्छ, र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ । नत्र दलाल पुँजीवादले कम्युनिष्ट पार्टी स्वयंलाई निलिदिनेछ । कमरेडहरु १ गम्भिरतापूर्वक विचार गरौँ, हामी कता जादैछौँ ?

आजको मार्क्सवादी सिद्धान्तको आँखाले हाम्रो इतिहास र आजको समाजलाई हेर्दा समाजवादको हाम्रो बाटो निशन्देह यस्तो हुनेछ स् पार्टीका हरेक सदस्य आजको क्रान्तिकारी विचार–सिद्धान्तले सचेत हुन्छन्, ती सदस्यहरु सङ्गठित हुन्छन् र त्यो सङ्गठनले आफ्नो सम्पूर्ण पङ्तिलाई समाजका सबै क्षेत्रमा योजनाबद्धरुपले परिचालित गर्छ । पार्टीका सबै सदस्यहरुको परिचालनले समाजमा गति पैदा हुन्छ, घटनाहरु उत्पन्न गर्छ, ती घटनाहरुले आम नागरिकमा पार्टीको पक्ष–विपक्षमा बहस सिर्जना गर्छ । पार्टीको पक्षमा रहनेहरुलाई क्रमशः सङ्गठित गरिन्छ । अब हिजोको भन्दा सङ्गठन फैलिन्छ, बलियो हुन्छ ।

अब फेरि हिजोभन्दा ठूलो दायरामा पार्टीको गतिविधि हुन्छ र फेरि नयाँ र ठूला घटनाहरु पैदा हुन्छन् । यो क्रममा हाम्रो पार्टीको विचार, सङ्गठन र परिचालनले दलाल पुँजीलाई साँघुु-याउने, राष्ट्रिय पुँजीको विस्तार गर्ने र सामाजिक न्यायलाई जोड दिँदै समाजवादका आधारहरु तयार गर्ने काम गर्छ । ज्ञातव्य के छ भने पार्टीले यो काम लोकतान्त्रिक बाटो र पद्दतिभित्रै गर्छ । यही र मूलभूतरुपमा यहि बाटो नै नेपालका माक्र्सवादी वा समाजवादीहरुको बाटो हो । लेनिनले करिब सवासय वर्ष पहिले पार्टी सदस्यको योग्यताबारे छलफल गर्नु भएको थियो ।

आज हामीले क्रान्तिको उपरोक्त प्रक्रियामा अगाडि बढ्ने पार्र्टीका हरेक सदस्यको आधारभूत योग्यता तोक्नु पर्र्ने भएको छ । पार्टीका विचारप्रति सचेत हुनुका साथै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्ने पार्टीका ‘हरेक सदस्य नकमाएको सम्पत्तिमा बाँच्दैनन वा आफ्नै कमाइमा बाँच्छन्, राज्यले तोकेको कर तिर्छन् र नागरिकले तिरेको राजस्व राज्यले दुरुपयोग नगरोस् भन्ने कुरामा हरबखत सचेत रहन्छन्’ जस्ता प्रावधानहरु विधानमै उल्लेख गर्नु पर्छ । त्यसले पार्टीलाई र पार्टीमार्फत् राज्य र समाजलाई राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने दिशामा अगाडि बढाउने छ ।

आज नेकपा जुन शक्तिका साथ उपस्थित छ यसलाई उपरोक्त प्रक्रियाअनुसार अगाडि बढाउने हो भने हरेक वर्ष पार्टीले असाधारण उपलब्धिहरु प्राप्त गर्न सक्छ । हाम्रो केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्म आठलाख सदस्यलाई सङ्गठित गरेर, त्यसका वरिपरी जनसङ्गठनसमेत अन्य संरचनामा रहेका अरु १०र१५ लाख सङ्गठित व्यक्तिहरु संघीय, प्रादेशिक र स्थानीय सरकार र जनप्रतिधि संस्था, जनसङ्गठनहरु र अन्य सामाजिक संघ–संस्थामार्फत् परिचालित हुँदा जुन उर्जा पैदा हुन्छ त्यसले मात्रै सामाजिक रुपान्तरणको आजको कार्यभार पूरा गर्न सकिनेछ ।

यस क्रममा पार्टीको हरेक व्यक्ति र कमिटीको काम राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्न व्यक्ति वा कमिटीले गरेको योगदानका आधारमा मूल्याङ्कन हुनेछ । त्यस्तो मूल्याङ्कन गर्ने परिपाटी स्थापित भएको पार्टीमा मात्रै आन्तरिक लोकतन्त्र र सदस्यको क्रान्तिकारी योग्यताको ग्यारण्टी गर्न सकिने छ र त्यस्तो पार्टीले मात्रै क्रान्तिको ग्यारण्टी गर्छ ।

कमरेड अध्यक्ष

पार्टी स्थायी कमिटीको चालु बैठकमा तपाईँले प्रस्तुत गर्नुु भएको प्रतिवेदनमा कैयन् महत्वपूर्ण विषयहरु समेटिएका छन् । खास गरी ‘पार्टीका आगामी कार्यक्रमका रुपरेखा’ अन्तरगत उल्लेख गरिएको कार्य योजना पार्टी कमिटी र सदस्यहरुको परिचालन र विभिन्न तहका अधिवेशनमा केन्द्रित छन् । ती सबै आफैमा उपयुक्त छन् । उहि काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिए झैँ, आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ ।

बरु यथास्थितिकै विस्तार हुनेछ । त्यसैले मेरो के प्रस्ताव छ भने केन्द्रिय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिष्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शिर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गरियोस् । त्यस कार्यशालामा पार्र्टीका सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रिय कमिटीमा ती निष्कर्षहरु पेश गरियोस् । केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस् ।

पार्टी बैठकको मर्यादाक्रमको ढाँचामा सबै विषयमा त्यहि गम्भीरताका साथ छलफल नै नहुने हुँदा कार्यशाला नै उपयुक्त हुनेछ । यो कामले केहि समय लिए पनि एक पटक पार्टीका विचार, सङ्गठन र कार्यक्रमका बारेमा छलफल गर्न र आम सहमति कायम गर्न सकियो भने पार्टी वास्तविक अर्र्थमा पुनर्गठन हुनेछ र क्रान्तिका चौतर्फी कार्यभार बहन गर्न सक्षम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्