सन् २०१८ मा नेपालले कुन–कुन खेल खेल्दैछ ?


१८ पुष २०७४, मंगलवार

g 1काठमाडौं स् सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साफ गेम्स) को समापन  समारोहमा नेपालले १३ औँ साफ गेम्स २०१८ मा गर्ने गरी झण्डा ग्रहण गरेको थियो। तर भौतिक पूर्वाधारको नाजुक अवस्था र खेलकुदको माथिल्लो निकायमा बसेकाहरुको बेवास्थाले गर्दा १३ औँ साग २०१८ मा नहुने पक्का भइसकेको छ यसको लागि नयाँ मित २०१९ मा तोकिएको छ।game

नेपालले यस वर्ष घरेलु मैदानमा गर्ने दक्षिण एसियाको खेलकुद मेला नहुने भएपछि २०१८ मा कुनै ठूलो खेलकुद नेपालमा हुने छैन। तर अन्य विभिन्न खेलकुद प्रतियोगितामा भने नेपालको सहभागिता हुने निश्चित छ।

२०१८ मा नेपालले भाग लिने खेलहरु

एसियन गेम्स

दक्षिण एसियाली खेलकुद भन्दा ठूलो एसियन गेम्स २०१८ मा हुँदैछ। प्रत्येक चार वर्षमा हुने नियम अनुसार १८औँ एसियन गेम्स अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म इन्डोनेसियाको जाकार्तामा हुनेछ। नेपालले पनि एसियन गेम्समा सहभागिता जनाउनेछ तर कति खेलमा कति खेलाडी सहभागी हुने तय भएको छैन। नेपालले २०१८ मा एउटै खेलकुद मेलामा एक भन्दा बढी खेलकुदमा भाग लिने यो एक मात्र प्रतियोगिता हो। यसअघि २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपालले एक कास्य मात्र जित्दै नाक जोगाएको थियो।

चौथो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप

नेपालले २०१८ मा भलिबल प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्नेछ। २०१७ मा नेपाली भलिबल इतिहासमै पुरुषतर्फ पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपालको पुरुष भलिबल टोलीले २०१८ को अप्रिलमा बंगलादेशमा हुने चौथो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने एनभिएका महासचिव जितेन्द्र बहादुर चन्दले पुष्टी गरिसकेका छन्।

बंगलालादेश भलिबल फेडेरेसनले गर्ने उक्त च्याम्पियनसिप अप्रिल १६ देखि २३ सम्म आयोजना हुनेछ।

फुटबल, क्रिकेट भलिबल बाहेक नेपालले अन्य खेलकुद प्रतियोगितामा पनि भाग लिनेछ। तर कुन-कुन प्रतियोगिता खेल्ने भन्ने टुङ्गो भने लागिसकेको छैन।

नेपाली नेत्रहीन क्रिकेट टोली पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप खेल्न पाकिस्तान जाँदैछ। कूल ६ टिमको सहभागिता रहेको प्रतियोगितालाई यादगार बनाउने पक्षमा नेपाल छ।

यसअघि दुई पटक टी-२० नेत्रहीन विश्वकप खेलिसकेको नेपाली टोलीले न्यूजिल्याण्ड र साउथ अफ्रिकालाई हराएको थियो।

ए डिभिजन लिग होला त २०१८ मा ?

यस्तै झण्डै चार वर्षदेखि हुन नसकेको ए डिभिजन लिग पनि २०१८ मा हुने सम्भावना छ। तर लिग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले २०१७ मै लिग गर्ने भनेर भने पनि ३ पटक यसको मिति सरिसकेको छ।

सन् २०१३-१४ (२०७०) को सिजनपछि नेपालमा ए डिभिजन लिग फुटबल हुन सकेको छैन। त्यसबेला मनाङ मर्स्याङ्दी क्लबले ए डिभिजन लिग जितेको थियो। यस्तै एन्फाले २०१५ मा नौलो प्रयोग गर्ने भन्दै होम एण्ड अवे प्रणालीमा राष्ट्रिय लिग आयोजना गर्यो। तर २०१५ अप्रिल (२०७२ बैशाख)मा  गएको भूकम्पका कारण एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला प्रभावित बन्यो। त्यसपछि राष्ट्रिय लिगका अधिकाँश खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन भए। उक्त राष्ट्रिय लिगको उपाधि थ्री स्टार क्लबले जित्यो।

त्यसपछि भने एन्फाले कुनै लिग गर्न सकेको छैन न त नकआउट टुर्नामेन्ट नै गर्न सकेको छ। २०१८ को मार्चमा एन्फाले चुनाव गर्छ एन्फा कार्यसमितिको। त्यसअघि नै ए डिभिजन लिग गर्ने तयारीमा रहेपनि लिगलाई चुनावले प्रभाव पार्ने पक्का छ।

डिभिजन-२ क्रिकेट

२०१८ मा नेपाली खेलकुदको लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हुनेछ वर्ल्ड क्रिकेट लिग डिभिजन-२। फेब्रुअरीमा अफ्रिकन राष्ट्र नामिवियामा हुने यस प्रतियोगितामा नेपाल र आयोजकसँगै ६ टिमले प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता किन पनि महत्वपूर्ण छ भने डिभिजन २ को शीर्ष दुई स्थानमा रहने टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरका लागि छानिनेछ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा अटाउन नसकेपछि नेपाल, केन्या, युएई र नामिविया डिभिजन २ मा झरेका हुन्। डब्लुसिएलको शीर्ष चारमा रहेका नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङले भने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाइसकेका छन्। नेपालले डिभजन २ मा शीर्ष दुई स्थान हात पार्न सके मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिपफायरमा खेल्न पाउनेछ। जहाँ आइसीसी वान डे वरियताको ९ देखि १२औँ स्थानसम्म रहेका ४ राष्ट्र, डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार टोलीसँग खेल्न पाउनेछ। कूल १० राष्ट्रबीच हुने क्वालिफायरको शीर्ष दुईमा रहने टीम २०१९ मा हुने विश्वकपका लागि छनोट हुनेछ।

साफ च्याम्पियनसिप फुटबल

२०१७ को डिसेम्वरमै गर्ने तय भएको १२औँ साफ च्याम्पियनसिप फुटबल २०१७ मा हुन नसकेपछि अब २०१८ मा हुने भएको छ। जसमा नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ फुटबल २०१८ को सेप्टेम्वर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ।

भारतमा सन् २०१५ मा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

एएफसी एसियन कप क्वालिफायर

भारतसँग दुई लेगको छनोट चरणमा पराजित भएपछि एसियन कप र विश्वकपको सुरुवाती चरणबाटै बाहिरिएको नेपालले एएफसी सोलिडारिटी कप जितेका कारण एसियन कप क्वालिफायरको अन्तिम राउण्ड खेल्ने मौका पाएको थियो।

समूह एफमा रहेको नेपालले अन्य ३ टोलीसँग होम एण्ड अवेको आधारमा छनोट खेल खेल्ने मौका पायो। तर छनोटको अन्तिम खेल खेल्नुअघि नै नेपाल बाहिरिसकेको छ। यस समूहबाट फिलिपिन्स छनोट नजिक पुगेको छ। यस्तै ताजिकिस्तान र यमनको पनि सम्भावना कायम छ।

एउटा समूहबाट २ टोली २०१९ मा युएईमा हुने एसियन कपका लागि छनोट हुनेछन्।

मार्च २०१७ बाट सुरु भएको छनोटको ५ खेल नेपालले खेलिसकेको छ। अब समूहको अन्तिम खेल नेपालले यमनसँग खेलन बाँकी छ। उक्त खेल मार्च २७, २०१८ मा हुनेछ।

नेपालले अहिलेसम्म खेलेका ५ मध्ये कुनै खेल जित्न सकेन भने २ खेल बराबरी गर्न सफल भएको थियो। बाँकी ३ खेलमा पराजित भएको थियो। नेपालले ५ खेलमा २ गोंल गर्दा कूल ९ गोल खाएको थियो। नेपालले घरेलु मैदानमा खेलेका ३ मध्ये दुई खेलमा बराबरी खेलेको थियो भने १ खेलमा हार बेहोरेको थियो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७