बिमा नगरेकालाई आरोहण अनुमति : स्पेनिस आरोहीको शव ४७ दिनदेखि हिमालमै


६ पुष २०७६, आईतवार
Jangbu Sherpa mountaineer 6

काठमाडौं, ६ पुस । मनाङको हिमलुङ आरोहण गरेर फर्कने क्रममा गत १५ कात्तिकमा स्पेनिस आरोही फर्नान्डो सान्चेज घासाको मृत्यु भयो । उनको मृत्यु भएको ४७ दिन बित्दा पनि शव ल्याउन कुनै निकायले चासो देखाएका छैनन् ।

सात हजार एक सय २६ मिटर अग्लो हिमाल आरोहण गरेर फर्कने क्रममा ६ हजार ५ सय मिटर तल तेस्रो क्याम्पमा आएपछि दुर्घटनामा परी उनको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ । विगतका वर्षमा आरोहीको निधन हुँदा एजेन्सी, विभाग हुँदै उद्धार कम्पनीहरू शव ल्याउन प्रतिस्पर्धा नै गर्थे । तर, मृतकको बिमा नवीकरण नभएको थाहा पाएपछि सबै निकायले चासो दिएका छैनन् । यसरी बिमा नवीकरण नभएका आरोहीलाई हिमाल आरोहणको अनुमति दिन मिल्दैन ।

दुर्घटनाको खबर पाउन ेबित्तिकै आरोहणमा पठाउने एजेन्सी इम्याजिन ट्रेक्स एन्ड एक्सिपिडिसन नेपालले शव ल्याउनलाई उद्धार कम्पनीलाई खबर गरेको थियो । तर, उद्धार कम्पनीले बिमाको विषयमा जानकारी लिन खोज्दा नवीकरण नै नभएको रहस्य बाहिरियो ।

त्यसपछि सबै उद्धार गर्ने प्रक्रिया रोकिएको छ । बिमा हुँदा एजेन्सी, हेलिकोप्टर कम्पनीदेखि उद्धार कम्पनीसम्मले कमिसन लिन पाउँथे । तर, बिमा नवीकरण नभएको तथ्य खुलेपछि सबै निकाय पछाडि हट्दा उनको शव हिमालमै अलपत्र छ ।

बिमाको कागजपत्र नहेरी अनुमति दिने ट्रेकिङ एजेन्सीदेखि विभागसम्म दोषी देखिएका छन् । ‘बिमाको म्याद सकिएको मृत्युपछि मात्रै थाहा हुन गयो, राम्ररी चेकजाँच नगर्नु हाम्रो कमजोरी हो,’ पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने ।

कागजपत्र सबै मिलाएर पेस गर्ने काम एजेन्सीको भएकाले यसमा उही जिम्मेवार हुने महानिर्देशक घिमिरेको तर्क छ । उनले भने, ‘हामीले एजेन्सीलाई पत्र लेखेरै छिटोभन्दा छिटो शव ल्याउन भनेका छौँ ।’ तर, एजेन्सी भने सहयोगका लागि अहिले विभाग र स्पेनिस दूतावास धाइरहेको छ ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार आरोहणका क्रममा मृत्यु भएमा एजेन्सीले आधार शिविरसम्म शव ल्याउनुपर्छ । तर, अहिले बिमा नवीकरण नभएको थाहा पाएर आफ्नो खर्च हुने देखिएपछि कम्पनीले शव ल्याउन ढिलाइ गरिरहेको छ । यस वर्ष हिमलुङ हिमाल आरोहण गर्न १० समूहका ९५ जना आरोहीले अनुमति लिएका थिए ।

कमिसनको लोभमा यसरी गर्थे फेक रेस्क्यु
हिमालबाट शव ल्याउन हेलिकोप्टर कम्पनी, एजेन्सी, उद्धार कम्पनीलगायतको समन्वय आवश्यक हुन्छ । गत वर्ष पर्यटन मन्त्रालयले गठन गरेको छानबिन कार्यदलको प्रतिवेदनअनुसार फेक रेस्क्युमा संलग्न यस्ता कम्पनीलाई कारबाही गर्न सिफारिस नै भएको थियो ।

तर, हालसम्म कुनै कम्पनीलाई कारबाही भएको छैन । हिमाल आरोहण तथा पदयात्राको क्रममा पर्यटकलाई बिरामी बनाउने, नक्कली उद्धार गर्ने, हेलिकोप्टरको चर्काे भाडा लिने तथा उपचारमा अस्पतालसँग मिलेमतो गरी ठगी गरेको गुनासो बढेपछि मन्त्रालयले छानबिन गरेको थियो ।

शव ल्याउन डेढ करोड खर्च
हिमालबाट शव ल्याउन मात्र डेढ करोडभन्दा बढी खर्च हुने भएपछि एजेन्सीले टार्दै आएको छ । हेलिकोप्टरदेखि शेर्पाको उद्धार टोलीसम्मलाई पठाउँदा कम्तीमा डेढ करोड खर्च हुने एजेन्सी सञ्चालक बताउँछन् ।

एजेन्सीका मुख्य सञ्चालक मिग्मा शेर्पाले विभागलाई यो सिजनमा शव ल्याउन नसकिने बताएको महानिर्देशक घिमिरेले जानकारी दिए । शेर्पा अहिले कामको सिलसिलामा अर्जेन्टिनामा रहेको उनका कर्मचारी दावा शेर्पाले बताए । अलपत्र परेको शवको विषयमा आफूलाई जानकारी नभएको उनको जिकिर छ ।

यता, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी भने उद्धारमा सरकार र एजेन्सीले सहयोग गर्नुपर्ने बताउँछन् । ‘बिमा नभईकन आरोहण अनुमति दिनु विभाग र एजेन्सी दुवैको कमजोरी हो,’ सुवेदीले भने, ‘नेपाल भ्रमण वर्ष २०२० मनाउन गइरहेका वेला यस्ता विषयमा जिम्मेवार निकाय गम्भीर भएर नलाग्नु खेदजनक छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७