छात्रालाई माध्यामिक शिक्षामा आकर्षित गर्न निः शुल्क साइकल


६ पुष २०७६, आईतवार
school student cycleing

भद्रपुर, ६ पुस । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ ।

मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

हाँका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ । मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ ।

हालसम्म कक्षा ९ मा अध्ययनरत जनकल्याण माविका २०, कुवाडी देवी माविका ३३ र जनता माविका ८५ छात्राले साइकल पाइसकेका छन् । डिल्लीराज माविका ९७ छात्रालाई आगामी साता साइकल वितरण गरिने उनले जानकारी दिए ।

छात्रालाई अध्ययनमा प्रोत्साहित गर्न साइकल बाँड्ने पहिलो स्थानीय तह रहेको बताईन्छ । गत महिना सोही गाउँपालिकाले ५० भन्दा बढी महिला स्वयंसेविकालाई समेत निःशुल्क साइकल बाँडेको थियो । शिक्षामा लगानी बढाउँदै नमूना बनिरहेको सो गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी प्राविधिक शिक्षा पढ्ने सबै छात्रछात्रालाई जनही रु १२ हजारका दरले प्रोत्साहन रकम दिने तयारी गरिरहेको छ । सो कार्यका लागि हाल नाम सङ्कलन भइरहेको अध्यक्ष साहले जानकारी दिए।

अन्तरराष्ट्रिय महोत्सवको तयारी

मेचीनगरमा आयोजना हुन लागिरहेको तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा रहने सबै २०० प्रदर्शनी कक्ष रहने छन् ।

मेची उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सो महोत्सव यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए । महोत्सव पुस १७ गते समापन हुनेछ ।

काँकडभिट्टा नाकाबाट चार किलोमिटर पश्चिमस्थित ऐतिहासिक बजार धुलावारीमा महोत्सवस्थललाई सिङ्गारिएको छ । महोत्सवमा एक लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य छ ।

ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिरमा जानका लागि र झापाको हवाई दृश्यावलोकनका लागि हेलिकोप्टर भाडामा उपलब्ध हुने सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७