१९७ मा फोन गरेर कसैको नम्बर माग्दै हुनुहुन्छ ? अब आफै पत्ता लगाउनुस् चाहिएको नम्बर


६ पुष २०७६, आईतवार
ntc 1

काठमाडौं, ६ पुस । के तपाई नेपाल टेलिकमको १९७ नम्बर डायल गरी कसैको फोन नम्बर माग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले नम्बर मागिरहनै पर्दैन । आफूले चाहेको व्यक्ति वा संस्थाको नम्बर सजिलै पाउन सक्नु हुने भएको छ ।

टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको हो । नयाँ व्यवस्थाअनुसार अब कम्पनीको वेबसाइटबाट पनि आवश्यक नम्बर हेर्न सकिने छ ।

नेपाल टेलिकमको वेब पेजमार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstnमा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम इन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमले प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७