भ्रमण वर्ष : डोटीमा निरौली दरबार र दाङमा रिहार मेला हेर्न नछुटाऔं


७ पुष २०७६, सोमबार
nirauli durbar

डोटी, ७ पुस । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटेल व्यवसायी सक्रिय भएका हुन् ।

यहाँका निजी क्षेत्रले आआफ्नो क्षेत्रबाट प्रचारप्रसारका काम शुरु गर्न थालेका छन् । अहिले जिल्लामा रहेका होटेल व्यवसायीले आफ्नो होटेल तथा रेष्टुराँको सरसफाइदेखि नयाँ भौतिक संरचना निर्माण गर्न जुटेका छन् ।

त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ ।

भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रात दिन खटेर लाग्न थालेको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौं, सुविधाका लागि सम्पूर्ण तयारी गर्दैछौँ ।’ त्यस्तै यहाँका पुराना कलासंस्कृतिको प्रदर्शनको पूर्वाअध्ययन तथा मठमन्दिरमा सरसफाइ कार्यक्रम पनि शुरु गरिन थालिएको छ ।

जिल्लामा पर्यटक आकर्षित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडीकेदार मन्दिर रहेका छन् भने यहाँको कला संस्कृतिमा हुड्के, छलिया, भुवाँ नाच, डेउडालगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए ।

उनले भने, ‘हामीसँग असंख्य कलासंस्कृति छ, हामीले ती क्षेत्रको मात्रै प्रचारप्रसार गर्नसके पर्यटक जति नि भित्र्याउन सक्छौँ ।’ बडीकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेकोसमेत पुजारी भट्ट बताउँछन् ।

त्यस्तै निरौलीमा रहेको सयौँ वर्ष पुरानो राजाको दरबार अवलोकन गर्न पनि पर्यटक आउने गरेका गरेका छन् । राजा निरैपाल मल्लको पालामा मासको गारोबाट उक्त दरबार निर्माण गरिएको स्थानीयवासी बताउँछन् ।

प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, ‘सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौं ।’

त्यस्तै होटेल व्यवसायी तथा उद्योग वाणिज्य सङ्घले जिल्लामा आउने पाहुनाको स्वागतका लागि विभिन्न क्षेत्र र ठाउँमा सूचना पाटी लगायतका सामग्री पनि राख्ने तयारी गरेको छ ।
त्यस्तै पर्यटन व्यवसायीले पनि सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको बारेमा निर्माण गरिएका प्रचार सामग्री प्रदर्शन गर्ने तथा प्रचारप्रसार गर्ने जिम्मेवारी पाएको छ ।

डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले भने, ‘हामी सबै व्यवसायी नेपाल भ्रमण वर्ष सफल बनाउन लागि परेका छौँ, प्रदेश सरकारले पनि सहयोग गर्नु जरुरी भएको छ ।’

भ्रमण वर्ष सफल पार्न जिल्लामा रहेका नौ वटा स्थानीयतहले पनि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘भ्रमण वर्ष मनाउनेभन्दा पनि सुदूरपश्चिम के हो भन्ने हामीले चिनाउनु जरुरी छ, सुदूरपश्चिमको धर्म, कला संस्कृति र पर्यटनको विषयमा हामी देश विदेशमा अवश्य चिनाउने छौँ ।’

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भ्रमण वर्ष सफल पार्न जिल्लामा कार्यरत सबै सङ्घ संस्था, कार्यालय र स्थानीयतहसँग सल्लाह र सहकार्य गरिने बताए । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न सबै तह, सङ्घ संस्थालाई हामीले आग्रह गरेका छौँ, हामी राम्रो तथा सौहार्दापूर्ण तरिकामा सफल पार्ने छौँ ।’

भ्रमण वर्षमा आएका पर्यटकलाइ खुशी पार्न यहाँका पुराना कला संस्कृति तथा झाँकीको प्रदर्शनी गरिने भएको छ । जसका लागि सबै स्थानीय तहमा कालासंस्कृति र झाँकी समूहसमेत गठन गरिन लागेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन ट्राफिक सचेतना र प्रचारात्मक कार्यक्रम शुरु गरेको छ । ट्राफिक प्रहरीद्वारा ‘हाम्रो सडक राम्रो सडक, सुरक्षित यात्राको लागि ट्राफिक नियमको पालना गरौँ’ भन्ने नारासहितका सूचना पाटी ठाउँ ठाउँमा राखिएका छन् ।

भ्रमण वर्षलाई सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग गरौँ भन्ने उद्देश्यले जिल्लामा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले बताए । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न हामीले जिल्लामा विभिन्न सडक तथा सुरक्षित यात्रासम्बन्धी कार्यक्रम शुरु गरेका छौँ, त्यसको सबैले पालना गर्नु जरुरी छ ।’

दाङमा पर्यटन वर्ष भव्यरुपमा मनाउने तयारी

यसैगरी दाङमा पर्यटन वर्ष २०२० लाई भव्यरुपमा मनाउने तयारी गरिएको जिल्ला पर्यटन प्रवर्धन समिति दाङले जनाएको छ । पुस १६ गते घोराही उपमहानगरपालिका–१३ बाह्कुने दहमा आपौचारिक कार्यक्रम गरी भ्रमण वर्षको शुभारम्भ गरीने जिल्ला पर्यटन प्रवर्धन समितिका संयोजक प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिए ।

त्यसैगरी पर्यटन वर्षलाई वर्ष दिन भरी भव्यरुपमा मनाउन जिल्ला तहमा २१ सदस्यीय समिति गठन गरिएको समेत उनले बताउनुभयो । साथै दाङका १० वटै पालिकामा पालिका स्तरका समिति गठन समेत गरिने जनाइएको छ ।

समितिका सदस्य श्रीधर पौडेलले भ्रमण वर्ष शुभारम्भका दिन झाँकीसहितको ¥याली, पाहुना बोलाउनेलगायतका कार्यक्रम रहेको जानकारी दिए । उनले भने, ‘जिल्लामा के कति पर्यटकीयस्थल छन् र त्यसको बारेमा पर्यटकलाई जानकारी दिनको लागि प्रचारप्रसारमा समेत जुटेका छौँ ।’

त्यसैगरी भ्रमण वर्ष सफल बनाउन र दाङका सम्पदाको प्रचारप्रसारका गर्न बस व्यवसायीले पहल थालेका छन् । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले दाङका पर्यटकीय सम्पदासहितको पोष्टर बनाएर बसमा टाँस्न शुरु गरेको छ । घोराही– दाङमा विशेष गरी धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीयस्थल छन् । पछिल्लो समय दाङको धार्मिक पर्यटकीयस्थल सँगसँगै प्राकृतिक पर्यटकीयस्थलमा समेत आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

दाङको घोराहीमा रहेको पाण्डवेश्वर मन्दिर, अम्बिकेश्वरी मन्दिर, बराह मन्दिर, बगारबाबा धार्मिकस्थल, गोरक्षरत्ननाथ क्षेत्र, रिहार धामलगायतका विभिन्न ठाउँ धार्मिक पर्यटक धेरै भित्रिने स्थान हुन् ।

यस्तै पुन्धाराको झरना, जखेडा ताल, चमेरे गुफा, घोडदौरा, सवारीकोट, मौलाकोट, छिल्लीकोट, ज्यामिरे ताललगायतका क्षेत्र प्राकृतिक पर्यटकीयस्थल हुन् । आन्तरिक तथा बाह्य पर्यटक घुम्न, हेर्न, रमाइलो गर्नको लागि आउने गर्दछन् । ती क्षेत्रमा बिदा वा शनिबारको दिनमा घुम्न जाने, फोटो खिच्ने, वनभोज जानेको घुइँचो नै लाग्ने गर्दछ ।

पछिल्लो समय दङ्गीशरणमा रहेको थारू सङ्ग्रहालय, घोराहीमा रहेको थारू ग्राम, गडवामा रहेको अवधिग्राम, घोराही सवारीकोटमा रहको मगरग्रामलगायतका ठाउँमा समेत अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । रिहार तुलसीपुरको प्रसिद्ध मेला हो ।

माघी महोत्सव पुस २५ देखि
थारू कल्याणकारिणीसभा दाङको मुख्य आयोजना र विभिन्न सङ्घसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघ महोत्सव हुने भएको छ । थाकस दाङका अध्यक्ष भुवन चौधरीले दिएको जानकारीअनुसार पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव हुनेछ ।

महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँको मघौटा नाच, बर्का नाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने थाकस दाङका सचिव प्रकाश चौधरीले जानकारी दिए । साथै महोत्सवमा थारू जातिका विभिन्न मौलिक खानपनीको संवाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीको प्रदर्शनी समेत रहने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७