सम्पदा पदयात्रा शनिबारदेखि


१० पुष २०७६, बिहीबार
Mayor News

काठमाडौं, १० पुस । भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरुमा पदयात्रा गरिने भएको छ । बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।

सरकारले गर्न लागेको अभियानमा सहयोग पुर्‍याउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पद्यात्रा शुरु गरिने जानकारी दिए । पशुपति मन्दिरबाट शुरु गरिने पद्यात्रा वसन्तपुर दरबारसम्म पुर्‍याइने छ ।

पुस १९ गते माइतीघर मण्डलदेखि स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।
यस्तै पुस २६ गते पाटनढोकादेखि पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पद्यात्रा गर्ने कार्यक्रम छ । खेलकूदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवर्धन गर्नका लागि सो दिन अन्तर्रा्ष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ ।

‘ऐतिहासिक सम्पदाको प्रचारप्रसारमा जोड दिनेछौं’, उनले भने, ‘धार्मिक सम्पदाको ऐतिहासिक महत्वका बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेका छौँ ।’ प्रदेशसभा सदस्य गणेश दुलालले पर्यटन क्षेत्रको विकासका लागि ३ नं प्रदेश सरकारले ६६ ओटै निर्वाचन क्षेत्रमा पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा काठमाडौँ ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सबैको सहकार्यमा भ्रमण वर्षलाई सफल पार्नुपर्ने बताए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका संस्थापक राजनन्द माण्डव्यले जनसंख्याको ठूलो हिस्सा ओगटेको भारत चीनका पर्यटकलाई मात्रै आकर्षित गर्न सके मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताए ।

हेभि इक्युपमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष तथा चक्रपथ सरसफाइका अभियानकर्मी ताराबहादुर कुवँरले पर्यटकलाई नेपाल भित्र्याउनका लागि सरसफाइको क्षेत्रमा विशेष ध्यान पुर्‍याउन पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७