‘म्यान्चेस्टरको खेल बुढो मान्छेले सेक्स गर्न खोजे जस्तो’


१० पुष २०७६, बिहीबार
eric cantona

काठमाडौं, १० पुस । म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजे जस्तो फुटबल खेलिरहेको बताउँदै यसले निराशा मात्र ल्याउने टिप्पणी गरेका छन् ।

ओले गनर सोल्कसायरको टोलीले स्थिर खेल प्रदर्शन गर्न नसक्दा यो सिजन पनि प्रिमियर लिगमा संघर्षरत छ । १८ खेलपछि युनाइटेड लिगको आठौँ स्थानमा सिमित रहेको छ ।

man

सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लबबाट बिदा लिएपछि युनाइटेडले लिग उपाधि जित्न सकेको छैन । यो सिजन पनि युनाइटेड लिगको शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २४ अंकले पछि परेको छ भने शीर्ष चार स्थानबाट ७ अंकले पछि रहेको छ ।

सबै प्रतियोगितामा युनाइटेड लगातार ६ खेलमा अपराजित रहेको थियो तर गत आइतबार वाटफोर्डसँग २–० ले स्तब्ध बन्यो । युनाइटेडका म्यानेजर सोल्कसायरले आफ्नो टोली लिभरपुलजस्तै उत्कृष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

तर, पाँच वर्ष क्लबमा बिताएर फर्गुसनको नेतृत्वमा चारवटा प्रिमियर लिग उपाधि जितेका एरिक भने अहिलेको टोली फ्यानहरुलाई उत्साहित बनाउने र उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने स्तरभन्दा धेरै पछाडि रहेको जिकिर गर्छन् । फ्रान्सका पूर्व खेलाडीले सोल्कसायरको टोलीले खेलेको हेर्नुमा कुनै मज्जा नै नरहेको टिप्पणी गरे ।

‘अहिले म्यान्चेस्टर युनाइटेडले खेलेको हेर्दा लाग्छ कुनै बुढो मान्छेले सेक्स गर्न खोजेको जस्तो लाग्छ । उसले सकेसम्म प्रयास गर्छ तर अन्त्यमा निराशाबाहेक केही हात लाग्दैन ।’ उनले ठट्टा गर्दै थपे, ‘बुढो मान्छेको कुरा गरिरहँदा त्यो म भने होइन । त्यो विम्ब मात्र हो ।’

टोलीले यो सिजन राम्रो प्रदर्शन गर्न नसके पनि युनाइटेड पुनः युरोपको शक्ति बन्नेमा भने एरिक विश्वस्त छन् । ‘उनीहरु फर्कन्छन् किनभने यो विश्वकै ठूलो क्लब हो ।’ युनाइटेडले बक्सिङ डेमा न्युक्यासललाई ओल्ड ट्राफोडमा आतिथ्य गर्नेछ भने सन् २०१९ को अन्तिम खेलमा बर्नलीको सामना गर्नेछ । युनाइटेडले नयाँ वर्षको सुरुवात आर्सनलसँगको भिडन्तबाट गर्नेछ । एजेन्सी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७