महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल शुरु


१९ पुष २०७४, बुधबार
caan

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।caan

मन्त्रिपरिषद्को पुस १३ को बैठकमा पर्यटनमन्त्री देवले ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले असहयोग गरेपछि आफूले उनलाई हटाउन खोज्दा सचिव महेश्वर न्यौपाने र निर्वाचन आयोग बाधक भएको’ भन्दै आक्रोश पोखेका थिए।

‘सचिवले पनि सहयोग गरेनन्, पछि मलाई त्यही विषयमा निर्वाचन आयोगमा लगेर उभ्याउने काम गरियो,’ मन्त्री देवले बैठकमा भनेका थिए, ‘अहिले आचारसंहिता लागेको छैन, नियुक्ति र केही सरुवाबढुवा गर्न खोजेको थिएँ, सचिवले दिँदै–दिँदैनन्।’ एक उच्च सरकारी अधिकारीका अनुसार मन्त्री देव पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ‘दिलोज्यान’ दिएर लागिपरेका छन्।

उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा आक्रोश पोखेर केही दिन जिल्ला भ्रमणमा गएका मन्त्री देव सोमबार ९पुस १७० मा काठमाडौं फर्किए। त्यसलगत्तै उनले पर्यटन सचिव न्यौपानेलाई बोलाएर ‘प्राधिकरणको महानिर्देशकबाट गौतमलाई हटाएर त्यहाँ सहसचिव आचार्यलाई नियुक्त गर्ने प्रस्ताव तयार गर्न’ निर्देशन दिएका थिए। तर, सचिव न्यौपानेले देवको निर्देशन पालना गर्न अस्वीकार गरेका थिए।

‘विवादास्पद निर्णयमा आफू संलग्न नहुने भन्दै सचिव न्यौपाने मंगलबार पोखरा गएका छन्,’ स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘मन्त्री देव एकलौटी निर्णय गरी अब बस्ने मन्त्रिपरिषद् बैठकमा सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ठाडो प्रस्ताव लैजाने तयारीमा छन्।’

स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी पनि मन्त्री देवको प्रस्तावको विपक्षमा छन्। सचिव र मुख्यसचिव दुवै आफ्नो निर्णयविरुद्ध भएपछि मन्त्री देव यसअघिको मन्त्रिपरिषद् बैठकमा आक्रोशित भएका थिए।

स्रोतका अनुसार मन्त्री देवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पाँचतारे होटल ¥याडिसनको ‘बिजनेस लाउन्ज’ सहित अन्य करिब तीन दर्जन पसल–कबलको नवीकरण एकैपटक १० वर्षका लागि गराउन प्राधिकरणका महानिर्देशक गौतमलाई दबाब दिँदै आएका थिए। यो काममा देवलाई विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायको साथ छ।

‘गौतमले मन्त्रीको दबाब अस्वीकार गरी कुनै पनि पसल–कबलको नवीकरण नगर्ने बरु पुनः बोलपत्र आह्वान गरी बढी भाडा कबोल गर्नेलाई दिने निर्णय गरेपछि पर्यटनमन्त्री देव गौतमसँग थप क्रुद्ध भएका थिए,’ स्रोतले भन्यो, ‘त्यसपछि देवले नवीकरण कानुन परिवर्तन गर्न एक समिति गठन गराएका छन्। त्यसले काम गरिरहेको छ।’ यही रिस फेर्न मन्त्री देवले गौतमलाई हटाएर सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउने तयारी गरेका हुन्। यसअघि देवले त्रिभुवन विमानस्थलका महाप्रबन्धक उपाध्यायलाई महानिर्देशक नियुक्त गर्न खोजेका थिए। तर उपाध्याय अवैध विदेशी मुद्रा ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरी निगरानीमा रहेको पाइएपछि उनलाई छाडेर देवले आचार्यलाई महानिर्देशक बनाउन चलखेल थालेका हुन्।

यसअघि गत असोज ९ गते मन्त्री देवले एकलौटी निर्णय गरी सहसचिव आचार्यलाई प्राधिकरण महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसँग सहमति माग्दै पत्र पठाएका थिए। त्यही दिन उनले प्राधिकरण महानिर्देशक गौतमलाई मन्त्रालयमा हाजिर गराउने निर्णयसमेत गरेका थिए। मन्त्री देवको निर्णय निर्वाचन आचारसंहिताविपरीत रहेको भन्दै आयोगले असोज १९ गते देवलाई आयोगमा उपस्थित भई जबाफ पेस गर्न आदेश दिएको थियो। त्यसको दुई दिनपछि असोज २२ मा मन्त्री देवले आफ्नो पूर्वनिर्णय बदर गरेको जानकारी आयोगलाई गराएका थिए।यो समचार आजको नागरिकमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७