भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔं


११ पुष २०७६, शुक्रबार
upardanggadi large

मुग्लिन, ११ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदा भए पनि प्रचारप्रसारको अभाव रहेको छ ।

समितिमा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार पर्यटन व्यवसायी, लगायतलाई समेटिएको उनले जानकारी दिए । भ्रमण वर्षलाई सफल बनाउन यहाँका पहिचान भएका पर्यटकीयस्थलको प्रचारप्रसार तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ ।

इच्छाकामनामा चितवन जिल्लाकै अग्लो भूमि सिराइचुली, जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, लामो झरना त्रिशूलीमा र्‍याफ्टिङ, काउलेमा चेपाङ बस्ती, याकराङमा गुरुङ बस्तीलगायत महत्वपूर्ण पर्यकटीयस्थल छन् ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक तथा गोरेटो बाटोलाई स्तरोन्नति कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाइएको छ । साथै जनजाति बस्तीमा घरबास (होमस्टे) सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरिरहेका छन् ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार जनसंख्या छ । नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् । यहाँ आउने पर्यटकका लागि चेपाङ समुदायको जीवनशैली अध्ययन गर्ने अवसर मिल्नेछ जसले फरक अनुभूति दिलाउने छन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जानका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार बटम स्टेशन पनि इच्छाकामना गाउँपालिकामा नै पर्दछ ।

मनकामना मन्दिर जाने पर्यटकलाई मनकामना माताको दिदीबहिनीमध्ये एक मानिने इच्छाकामना मन्दिरसम्म आउन प्रेरित गरिने अध्यक्ष गुरुङले बताउनुभयो । केबलकार चढेर दैनिक तीन हजार ५०० को हाराहारीमा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

प्रचारप्रसारका लागि पछिल्लो समय गाउँपालिकाले भिजिट इच्छाकामना अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाका अन्य स्थानीय तह प्रायः समथर भू–भाग पर्छन् । आम मानिसले चितवन भन्नेबित्तिकै समथर भू–भाग भन्ने बुझ्छन् । तर इच्छाकामना पहाडी भूगोल भएको गाउँपालिका हो । पहाडी भूगोल भए पनि निकै सुन्दर यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७