प्रतिनिधि र राष्ट्रियसभाको पहिचान छुट्याउन दुई रङ्गका कुर्सी


१९ पुष २०७४, बुधबार
par sahayatree 1

काठमाण्डौं : व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । par sahayatree 1

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकाशे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ । उनले भने–‘हामीले अन्तर्राष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको देख्छौं । हामीले शान्तिको प्रतीक निलो र राष्ट्रिय झण्डामा प्रयोग भएको रातो रङ छनोट गरेका हौं ।’ संसद् सचिवालयले विश्वमा संघीयताको उत्कृष्ट अभ्यास गरिरहेका अष्ट्रेलिया र युक्रेनजस्ता मुलुकले अवलम्बन गरेका संसदीय गतिविधिबारे अध्ययन÷अवलोकन गरी त्यहाँका सकारात्मक पक्षलाई हामीले पनि के कस्तो ढङ्गबाट ग्रहण गर्न सकिन्छ भन्ने हेतुले केही दिन अघि उच्चतहका अधिकृतलाई ती मुलुकमा पठाएको थियो ।

अध्ययन टोलीले ती मुलुकका संसद्ले अनुसन्धान र पुस्तकालयलाई सर्वा्धिक महत्व दिएका कारण धेरै विद्यार्थी र पर्यटकको पहिलो रोजाइको गन्तव्य संसद् नै हुने गरेको तथ्य फेला परेको थियो ।
व्यवस्थापिका–संसद् सचिवालयले संघीय संसद्लाई सांसद र प्रविधिमैत्री बनाउने सन्दर्भमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

माघ १५ सम्म राष्ट्रियसभाको बैठक कक्ष

सो क्रममा प्रतिनिधिसभा तथा संयुक्त बैठक गर्नु पर्दाका लागि नयाँ बानेश्वरस्थित विगतमा संविधानसभा सञ्चालनमा रहेको मूल सभाकक्ष र राष्ट्रियसभाको लागि सोही भवनको पूर्वतर्फको नुप्से हलको आवश्यक मर्मत सुधार भइरहेको छ । प्रतिनिधिसभाको हलमा ३३४ वटा कुर्सी रहने छन् । त्यस कामका लागि तीन करोड ५० लाख खर्च लाग्ने बताइएको छ । माइक र सिटलगायत पूर्वाधारको हिसाबले प्रतिनिधिसभा बैठक कक्ष पुस मसान्त र राष्ट्रियसभाको हल माघ १५ गतेसम्ममा तयार भइसक्ने डा. गौतमले बताए । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभा ५९ सदस्य हुने सवैधानिक व्यवस्था रहेको छ । संसद् सचिवालयले संघीय संसद्, यसको भूमिका, संसद्बारे संविधानमा भएका व्यवस्था, विधेयकको उत्पत्ति, अघि बढाउने तौरतरिका र पास हुने विधि प्रक्रिया, प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको सम्बन्धलगायतका विषयमा सांसदलाई प्रशिक्षण गराउन अभिमुखीकरण गर्नेलगायत अधिवेशनको प्रारम्भिक दिनमा गर्नुपर्ने कार्यमा अहिले जुटिरहेको छ ।
प्रवक्ता गौतमले भने–‘सघीय संसद्को अधिवेशनका लागि अहिले हामी तयारीको चरणमा छौं । धिवेशन आह्वान अघि सचिवालयले तयार गर्नुपर्ने कार्य भइरहेको छ ।

पुस्तकालय र अनुसन्धान संस्थागतरुपमै

आगामी दिनमा संसद् सचिवालयले पुस्तकालय र विशेषज्ञसहितको अनुसन्धान कार्यलाई संस्थागतरुपमा नै विकसित गर्ने सोच बनाएको छ ।

वार्षिक सञ्चालन खर्च एक अर्ब ७० करोड

सचिवालयले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) सञ्चालन गर्न वार्षिक एक अर्ब ७० करोड खर्च लाग्ने प्रारम्भिक अनुमानित आँकडा पनि निकालेको छ ।

व्यवस्थापिका–संसद्मा दर्ता भएका र पारित भएका विधेयकको अवस्था अहिले शून्य रहेको छ । कुनै पनि विधेयक अब नयाँ चरणबाट प्रवेश हुनुपर्नेछ । प्रक्रियाका हिसाबले सबैभन्दा पहिले अब सांसदको शपथग्रहणकै कार्यक्रम हुनेछ । त्यसपछि मात्र सांसदहरु औपचारिकरुपमा सदनका बैठकमा भाग लिन योग्य हुनुहुनेछ । शपथपछि परिचयात्मक कार्यक्रम र त्यसपछि विगतको अभ्यासअनुसार सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सरकारको सिफारिशमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान हुनेछ ।

मुलुकमा दुई वा त्योभन्दा बढी राजनीतिक दलको सरकार गठन भएको खण्डमा गठन भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद्को प्रारम्भिक दिनमा सदनले आफ्नो अन्तरिम कार्य्विधि र नियमावली बनाउने प्रवक्ता गौतमले जानकारी दिए । सचिवालयले आगामी दिनमा सांसदको गरिमा बढाउन संघीय सांसदको पहिचान झल्कने लोगो केकस्तो ढङ्गबाट बनाउन सकिन्छ भन्नेबारेमा पनि गृहकार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७