पर्यटन वर्षलाई लक्षित गर्दै उडान शुरु    


१२ पुष २०७६, शनिबार
visit nepal 2020

मङ्गलबारे, १२ पुस ।  इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो ।

इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ ।     

 सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्र भएकाले यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान शुरु गरिएको सापकोटाको भनाइ थियो ।     

 पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ ‘उत्पादन’ थप गरेको सापकोटाले बताए ।     

 सिम्रिकले इलामबाट रु २८ हजार ९९९ मा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट रु २९ हजार ९९९ मा र सुकेटारबाट रु छ हजार ९९९ मा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।     

 इलामबाट शुरु गरिने उडानबाट जिल्लावासी मात्र होइन तराई र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई समेत सहज हुने छ । इलाम प्रतिनिधि आचार्यका अनुसार इलामबाट बुकिङ शुरु गरिसकिएको छ । भ्रमण वर्ष मनाउन जिल्लाका स्थानीय तहले पनि तयारी थालेका छन् ।         

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७