‘हाम्रो क्षेत्रबाट धेरै सांसद र मन्त्री बन्नुभयो, हामी उहाँहरूले बनाउनु भएको खाल्डो पुर्दै छौँ’


१२ पुष २०७६, शनिबार
mahesh rai salpa silichho chairman

महेश राई साल्पासिलिछो गाउँपालिकाका प्रमुख हुन् । काठमाडौँको लामो बसाइपछि कांग्रेसबाट स्थानीय तहको निर्वाचन जितेर गाउँपालिकाको जिम्मेवारीमा पुगेका राई आफू गाउँको विकासमा लागिरहेको भए पनि गाउँमा भइरहेका विकास, निर्माणका गतिविधिहरूबाट भने सन्तुष्ट छैनन् । काठमाडौँ बसेका बेला उनले गाउँको विकासका लागि देखेका र बुनेका योजना अहिले गाउँमा कार्यान्वयन गराउन सकिरहेका  छैनन् ।

चुनावताका उनमा जुन उत्साह थियो, त्यो अहिले उनमा पाउन नसकिएको अनुभूति जोहोकीले गर्न सक्छ । काम गर्दा खुट्टा तान्ने प्रवृत्तिका कारण आफूले बनाएका योजनाहरू कार्यान्वयनमा लैजान कठिन भएको उनी स्वयम् बताउँछन् । यहाँको अवस्थाका कारण पाँच वर्षे आफ्नो कार्यकाल कहिले सकिएला भन्ने जस्तो पनि लाग्ने गरेको बताउने महेश राईसँग नयाँ पेजले गरेको कुराकानीको सार संक्षेप:

तपाई चुनाव जितेर गाउँपालिकाको नेतृत्वमा आउनु भएको पनि अढाई वर्ष लागिसक्यो, अढाई वर्षको अनुभव कस्तो रह्यो ?

म गाउँपालिकाको अध्यक्ष बनेर आएको अढाई वर्ष लाग्यो । जनतासँग प्रत्यक्ष साक्षात्कार हुने, समस्या बुझ्ने मौका पाएको छु । जनताको समस्या सुन्न पाउनु, सेवा गर्न पाउनु मेरा लागि गर्वको विषय हो । म साल्पासिलिछो गाउँपालिकाको प्रमुख भएको नाताले यहाँका नागरिकसँग नजिक रहनु पर्छ, समस्या सुन्नु पर्छ, सकेसम्म सेवा गर्नुपर्छ । प्रत्यक्ष जनतासँग बसेर काम गर्न पाउँदा खुसी नहुने कुरै हुँदैन । यो अवधि रमाइलोसँग बितिरहेको छ । तर, राम्रोसँग काम गर्न नपाउँदा अलि दुख लाग्छ । कहिले कार्यकाल पुरा हाेला झैँ हुन्छ । आउँदा दिन पनि जनताको सेवामै खर्चन प्रतिबद्ध छु । 

साल्पासिलिछो गाउँपालिका जिल्ला सदरमुकाम भन्दा धेरै टाढा छ । यहाँका नागरिक प्रशासनिक काम बाहेक हत्तपत्त सदरमुकाम पुग्दैनन् । यहाँ शिक्षा र स्वास्थ्य सेवा भने जस्तो छैन । यस्तो स्थिति नागरिकको आवश्यक कसरी पूरा भइरहेको छ ?

हो, यहाँ शिक्षा, स्वास्थ्य मात्र होइन धेरै कुरामा असुविधा छ । तर स्वास्थ्यको क्षेत्रमा हिजोको तुलनामा धेरै सुधार ल्याउने कोसिस गरेका छौँ । यहाँको भूगोलका कारण सबैतिर एकनास सुविधा पुर्‍याउन नसके पनि पहल जारी छ । केही गम्भीर बाहेकका सामान्य रोगको उपचार यहीँ गर्न सकिने वातावरण तयार गरेका छौँ ।

विशेष गरी यहाँ गर्भवती महिलाका लागि स्वास्थ्य उपचार लिन समस्या हुने गरेको सुनिन्छ, उनीहरूलाई लक्षित गरेर गाउँपालिकाले केही काम अगाडि बढाएको छ ?

हिजोका दिनमा गर्भवतीका लागि ठुलै समस्या थियो, तर, अहिले त्यो कम हुँदै गएको छ । हामीले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । यहाँ नर्मल डेलिभरी गराउने जनशक्ति र वातावरण छ । साथै गर्भवती महिलाको प्रत्येक महिनामा चेक जाँच गर्ने वातावरण बनाएका छौँ । यहाँ गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, आवश्यक परामर्श दिने काम पनि हुन्छ । मैले गाउँपालिकाको जिम्मेवारी लिएयता त्यस्तो जोखिमपूर्ण समस्या आएको छैन ।

त्यो अवस्था नआओस् भनेर नै हामीले गर्भवतीलाई गर्भ जाँचका लागि सचेत गराउँदै आएका छौँ, उहाँहरूको स्वास्थ्य अवस्था र सम्भावित जोखिमका बारेमा पहिल्यै जानकारी गराउने गरेका छौँ । जसका कारण बढी जोखिम देखिए अन्यत्र उपचारका लागि जान सहज होस् भन्ने हाम्रो उद्देश्य हो ।

तपाईं व्यापारिक पृष्ठभूमिका मान्छे, राजनीति, चुनाव हुँदै अहिले गाउँपालिकाको नेतृत्वमा आउनु भएको छ, हिजोको अनुभवले आजको काममा कतिको सघाउ पुगेको जस्तो लाग्छ ?

मेरो पुरानो पृष्ठभूमि व्यापारिक थियो । हिजोको अनुभव काम नलाग्ने भन्ने नै हुँदैन । मेरो पार्टीले टिकट दिएर म चुनावमार्फत यहाँ आइपुगेको छु । पार्टीको विश्वास, भरोसा आफ्नो ठाउँमा छ तर, म अहिले जनताको प्रतिनिधि हुँ । जनताको सेवा गर्नु नै मेरो अहिलेको कर्तव्य हो । म अहिले पार्टी सङ्गठन भन्दा पनि जनताको प्रतिनिधिको रूपमा आफूलाई चिनाउन चाहन्छु । अहिलेको मेरो मुख्य उद्देश्य यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि र यहाँका नागरिकको जीवनस्तर उकास्ने हो । यो समय राजनीति होइन, जनताको सेवा र गाउँको विकास गर्ने बेला हो ।

तपाईंको पालिकामा धेरै जनप्रतिनिधि नेकपाबाट हुनुहुन्छ । निर्णय गर्ने कुरा योजना अघि बढाउने कुरामा कतै त्यस्तो असमझदारी, असहयोगको अवस्था छ कि छैन ?

सामान्य कुरामा असमझदारी हुनु अनौठो होइन । तर, यहाँको हकमा त्यस्तो छैन । यहाँ अन्य दलका साथीहरूबाट भरपुर सहयोग मिलेको छ । यहाँ त्यस्तो पार्टीलाई अगाडि सार्नुपर्ने खालको विवाद केही छैन । विकास निर्माणका सवालमा हामी सबै एक हुन्छौँ । यो पार्टी त्यो पार्टी भन्ने हामी छुट्ट्याउँदैनौ । विकास निर्माणको काममा कतैबाट अवरोध आएको अवस्था छैन । मैले पनि यसमा राजनीतिक आँखाले कसैलाई नजिक, पर राखेको छैन ।

तपाईंले राजधानी (काठमाडौँ) लामो समय बिताउनु भयो । गाउँबाट धेरै वर्ष दुरी बढाउनु भयो । त्यस्तो अवस्थामा पनि नेपाली काँग्रेसले तपाईँलाई टिकट दियो, मतदाताले तपाईँको नाम सुने पनि प्रत्यक्ष देख्न नपाई रहेको अवस्थामा पनि चुनावमा बाजी मार्नु भयो । यस्तो अवस्थामा पनि कसरी चुनाव जित्नु भयो ?

हो मैले काठमाडौँमा २५ वर्ष बिताएँ । गाउँसँग धेरै वर्ष बिछोड जस्तै भएँ । तर, काठमाडौँमा बस्दा पनि गाउँका लागि केही गर्नुपर्छ भन्ने भावना भने मनमा जागिरहन्थ्यो । यस्तै अवस्थामा पार्टीले मलाई चुनावमा टिकट दियो, चुनाव जित्ने सम्भावना देख्यो । नभन्दै मलाई महेश राई मात्र भनेर चिन्नु भएकाहरूले पनि यो मान्छेले गाउँका लागि बुनेको योजना सही छ भनेर पत्याउनु भयो ।

सम्भवतः नयाँ मान्छेले केही गर्छ कि भन्ने यहाँका दाजुभाइ दिदीबहिनीलाई लाग्यो । मलाई भोट दिएर जिताउनु भयो । यहाँ कुनै जादुको कुरा छैन । मात्र भरोसा र विश्वासको मात्र कुरा हो । अब हिजो उहाँहरूले गरेको मप्रतिको भरोसा मैले टुट्न दिनु हुन्न । यसका लागि म प्रतिबद्ध छु ।

कर्मचारीसँग चाहिँ तपाईँको काम गराइको तालमेल नमिली रहेको गुनासो पनि यदाकदा सुन्नमा आउँछ । कर्मचारी वर्गको सहयोग चाहिँ कस्तो छ ?

कर्मचारीसँग तालमेल नमिल्ने भन्ने कुरा शतप्रतिशत गलत हो । म स्पष्ट कुरा गर्ने मान्छे हुँ, चित्त नबुझेको कुरा भनिहाल्छु । त्यो कसैलाई नपचेको हुनसक्ने कुरा अर्को हो । तर, मेरो व्यवहारमा चित्त नबुझाएको र त्यसरी असहयोग नै गरेको मैले चाहिँ अनुभव गरेको छैन ।

गाउँपालिकाबाट हुने विकास निर्माणको ठेक्कापट्टामा आफू निकटका व्यक्ति तपाईँको आँखामा पर्ने गरेको भन्ने पनि सुनिन्छ नि ?

(मुस्कुराउँदै) यो होइन, हुन सक्दैन र हुन पनि दिन्न । यो खालको वातावरण यहाँ छैन । गाउँपालिकाको प्रमुख भए पनि हामी सबै सल्लाह, सुझाव र निर्णयका साथ काम गर्छौ । विकास निर्माण र ठेक्कापट्टाको काम गाउँपालिका प्रमुख एक्लैले मनखुशीले गर्ने कुरा होइन, यसको पनि आफ्नै विधि, प्रक्रिया, नियम र कानुन हुन्छन् ।

विधिमा रहेर गरिने कुरामा यस्तो गुनासो आउँछ भन्ने मलाई लाग्दैन । हामीले गाउँको समग्र हितलाई हेरेर काम गर्ने हो । को–नजिक, को टाढाको भन्ने नै हुँदैन । गाउँपालिकाको आवश्यकता अनुसार योग्यता पुगेकाले जिम्मेवारी पाउने कुरा मात्र हो । काम गर्दा सबैसँग सल्लाह सुझाव नमागी गर्ने गरेको छैन । सबैसँग समन्वय नगरी काम नै गरेको छैन ।

अहिले देशभरका स्थानीय निकायको पहिलो प्राथमिकता सडक देखिन्छ । यो कुरामा तपाईँको गाउँपालिका पनि अछुतो देखिएन, बिना प्राविधिक नापजाँच र प्राविधिकले इन्जिनियरिङ नगरी सडक खन्ने कामले भूक्षयको समस्या निम्तिइरहेका पनि छन् । यस कुरामा तपाईँले चाहिँ कतिको विचार पुर्‍याउनु भएको छ ?

हो, समग्र देशलाई हेर्दा विना प्राविधिक जाँच खनिएका सडकहरूले विकाससँगै विनाश पनि निम्त्याएका छन् । तर, यो जिल्ला सडक अभावकै कारण विकास पूर्वाधारको क्षेत्रमा पछाडि परेको जिल्ला पनि हो । यो यथार्थ पनि हो । अहिले यहाँका नागरिकको माग अनुसार सबै वडामा सडक पुर्‍याउने काम चरणबद्ध रूपमा भइरहेको छ ।

हामीले अरूतिरको समस्याहरू सुनेका कारण पनि प्राविधिक रूपमा नै सडकका योजनाहरूलाई अगाडि बढाएका छौँ । सर्वसाधारणको बस्तीमा असर नपुगोस्, बाढी पहिरो र भूक्षयको समस्या भोग्न नपरोस् भन्ने कुरामा सचेत छौँ । हामीले मनोमानी रूपमा जता पायो त्यतै डोजर चलाएका छैनौँ ।

तपाईंले निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको थियो । तर, तपाईँले गर्नु भएको प्रतिबद्धता व्यवहारमा त देखिएन नि ?

मैले यहाँका नागरिकसँग यो प्रतिबद्धता गरेकै हुँ । यो चुनाव जित्नका लागि मात्र बोलेको होइन । मैले पाउने तलब सुविधा यहाँकै विकासमा खर्च गर्छु । जुन कुरा मेरो कार्यकाल सकिनु भन्दा केही समयअघि स्पष्ट रूपमा सार्वजनिक गर्छु ।

तपाईंप्रति यहाँका जनताको आशा र भरोसा धेरै छन् । अहिले गर्दै गरेका बाहेक अन्य योजना के–के छन् बुँदागत रूपमा भनी दिनु हुन्छ कि ?

हाम्रो क्षेत्रबाट धेरै नेताहरू सांसद बन्नुभयो, मन्त्री बन्नुभयो । यहाँका जनताले उहाँहरूलाई सांसद, मन्त्री बनाए पनि केही पाउनु भएनन् । सडक उस्तै छ, उहाँहरूले बनाएकाे पुरानो खाल्डो पुर्ने काम भइरहेको छ । उहाँहरूको अधकल्चो कामलाई स्याहार्दा स्याहार्दै आफ्नो काम चाहिँ गौण जस्तो बनिरहेको छ । जीर्ण वडा कार्यालय सबै स्थापना गरेका छौँ । स्वास्थ्यको भवन तयार गरेका छौँ ।

कुनै संरचना नभएको गाउँपालिकामा आफ्नै कार्यालय स्थापना गरेका छौँ । चौकी स्थापना गरेका छौँ । कृषिमा कुरा गर्नु हुन्छ भने हामीले प्रत्येक वडालाई ‘पकेट क्षेत्र’ घोषणा गरेर काम गर्ने अभियान थालेका छौँ । अहिलेका योजना र कामहरू विशेष गरी यिनै हुन् । जनताको आवश्यकता र सुझावका आधारमा यहाँको बजेटलाई हेरेर योजना बनाउँदै अगाडि बढ्दै जाने हाम्रो रणनीति हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७