प्रचण्डलाई पगाल्न अदृष्य खेल


१९ पुष २०७४, बुधबार
kp.prachanda

काठमाण्डौं । वाम गठबन्धनको सरकार बन्ने कुराको चर्चा चलेको लामो समय भए पनि सरकार गठनको प्रारम्भिक प्रक्रिया नै शुरु हुन सकेको छैन । नेकपा एमाले र माओवादीबीच पार्टी एकता र पावर शेयरिङ्गको अवस्था हेरेर मात्र सरकार गठन हुने संकेतहरु देखिन थालेका छन् ।Puspakamal tension mood

प्रतिनिधि तथा प्रदेशसभा चुनावताका कुम जोडेर हिंडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटघाट अहिले निकै पातलो बनेको छ । यी दुई अध्यक्षबीचको भेटघाट पातलिनुका पछाडि व्यक्तिगत र आ–आफ्नो पार्टीका काम हुन सक्ने भए पनि यसबाट फाइदा लिन सक्ने शक्तिहरुले उनीहरुको दूरीलाई अन्य अर्थ लगाउँदै हिंडिरहेको समेत पाइन्छ । तर, जे भए पनि अहिलेको राजनीतिक जोड–घटाऊको अवस्था हेर्दा सरकार गठनको साँचो भने प्रचण्डकै हातमा रहेको स्पष्ट देखिएको छ ।

वामगठबन्धनलाई सरकार बनाउने म्याण्डेड जनताले दिएको र यसको स्वभाविक हकदार एमाले अध्यक्ष ओली देखिए पनि यसमा प्रचण्डको भूमिका कस्तो रहला भन्ने पनि देखिएको छ । दुई–चार दिनयता नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको समाचारहरु पनि बाहिर आएका छन् । नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा यसको पुष्टि गर्न बाँकी नै रहे पनि पार्टीका शीर्ष नेताहरुको मुखबाट नै यी अभिव्यक्ति बाहिर आएका छन् । यसले के कुरा पुष्टि गर्छ भने–सरकार गठनको साँचोका रुपमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पगाल्न अँध्यारोमा खेलहरु भने भईरहेका छन् ।

को–को छन् सक्रिय ?

यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन केही शक्ति केन्द्र र नेताहरू अदृष्य रुपमा सक्रिय देखिन्छन् । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिदै जाँदा कांग्रेस तथा मधेसवादी दलका नेताहरू प्रचण्डलाई फकाउन सक्रिय भएका छन् । वाम गठबन्धनको सरकार बन्न नदिनका लागि कांग्रेस र मधेसवादी दलका दोस्रो तहका नेताहरू सक्रिय भएको समाचार स्रोतहरू बताउँछ । कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अमरेशकुमार सिंह, डा. संशाक कोइरालालागयतका नेता सक्रिय देखिएका छन् । मधेसी दलका तर्फबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, राजेन्द्र महतो, अनिल झा, संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवलगायतका नेताहरू सक्रिय भएको स्रोतको दाबी छ ।

वाम गठबन्धनका दुई नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘पावर शेयरिङ’ मा कुरा नमिलिरहेका बेला दुई नेताको दूरी बढाउन यी शक्ति सक्रियता देखिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनको विषयमा मधेसी दलका नेताहरूसँग छुट्टा छुट्टै छलफल गरी आ–आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको समेत हल्ला राजनीति वृत्तमा चलिरहेको छ । प्रचण्ड र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच भएको भेटघाटले वाम गठबन्धनलाई सशङ्कित पनि बनायो । यसअघि प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटघाट भएको थियो ।

‘प्रचण्डले जुनसुकै गठबन्धनको सरकार बनाउन्, हामीलाई मतलब छैन । तर, संविधान संशोधनको विषयलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो माग हो’–अध्यक्ष महत भन्ने गर्छन् । महतले बाहिर यस्तो बताए पनि ओलीको नेतृत्वमा सरकार नबनोस् भन्ने नै भित्रि उद्देश्य रहेको जानकार बताउँछन् । महत अहिले पनि प्रचण्ड शक्तिशाली नेता रहेको बताउन पछि पर्दैनन् । महतोले सबै कुरा नखुलाए पनि राजपा नेपालका एक नेताले भने–‘मधेसवादी दलका लागि वाम गठबन्धन भन्दा बेटर लोकतान्त्रिक गठबन्धन नै हो । तर, कांग्रेस गम्भीर देखिएको छैन ।

वाम गठबन्धन अहिले विवादित देखिएको छ । यदि कांग्रेसले राम्रोसँग खेल्न सक्यो भने माओवादी, मधेसी दल मिलाएर सरकार बनाउन सकिन्छ ।’ राजपा नेपालका महासचिव समेत रहेका ती नेताले भने–‘प्रचण्डले एमालेसँग एकता गर्दा केही नपाउने देखिएको छ, न उहाँले प्रधानमन्त्री पाउँदै हुनुहुन्छ, न पार्टी अध्यक्ष पाउँदै हुनुहुन्छ अनि किन के का लागि पार्टी एकीकरण गर्ने निष्कर्षमा प्रचण्ड पुगेको कुरा मैले बुझेको छु ।’ प्रचण्डले पार्टीका आन्तरिक वैठकमा जनताले एकता र वामगठबन्धनका लागि म्याण्डेड दिएको भन्दै जसरी पनि पार्टी एकता हुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७