नेपाल भ्रमण पर्ष अष्ट्रेलियामा भव्य तयारी


१४ पुष २०७६, सोमबार
Visit Nepal 2020 D4hJtCsMTi

काठमाडौं, १४ पुस : भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रमण्डल अष्टे«लियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अष्टे«लियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ ।

यसैगरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण र्‍याली गरिने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका विभिन्न तहतप्काका अधिकारीहरु सक्रिय रुपमा लागिपरेका छन् । त्यसै दिन दिउँसोे १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरुको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ ।

सो कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले विधिवत् रुपमा उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रिभोज गरिँदैछ ।
यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवासले जनाएको छ । ट्राभल एजेन्टहरु, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकारलगायतसँग छलफल तथा उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ ।

राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानवेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलोपटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । अष्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको जनइएको छ ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउनुहुन्छ । उहाँले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्ने बताए ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७