ज्यान अमेरिका, जागिर जाजरकोट !


१९ पुष २०७४, बुधबार
district hospital jajarkot 1 1

काठमाण्डौं : मान्छेलाई जिल्लामै बसेर जागिर खान त कम्तिको हैरानी छैन, अझ सात समुन्द्रपारी बसेर स्वदेशको जागिर खान कतिको सम्भव होला ? यो दुनियाँमा असम्भव भन्ने कुरा नै छैन भन्ने कुराको गतिलो उदाहरण बनेको छ– जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. निशराज बस्नेतको जागिर ।hajir

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेत एक वर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर खाइरहेका छन् । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा उनी जिल्ला अस्पतालमा नभई अमेरिकामा रहेको रहश्य फेला परेको हो । उनी गत वर्ष अमेरिका गएका हुन् । २०७३ सालको अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो । २०७४ बैशाखदेखि यता दुई पटक अस्पताल आई हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका थिए । यस वर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।
अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् ।

घर बिदा लिइसकेर फेरि हाजिर भएपछि मात्र अर्को घर बिदाको बाटो म्याद लिन पाइन्छ । तर, डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिएका छन् । साढे आठ महिना बितिसक्दासम्म जम्मा २७ दिन हाजिरी छ तर सट्टा बिदा (थप काम गरेको) मात्र दुई महिनाभन्दा बढी लिएको देखिन्छ’–सहायक प्रजिअ शर्माले भन्छन्–‘हामीले हाजिरी रजिष्टर झिकाएर अनुसन्धान गरिरहेका छौं । यो अनियमितता हो ।’ यसैबीच जिल्ला अस्पताल प्रमुख डा. चाँदनी जैसवालले काम नगरेको अवधिको पनि भत्ता लिइरहेको खुलासा भएको छ । उनी दन्तरोग सर्जन हुन् । दन्तरोगका बिरामी इमरजेन्सीमा भर्ना हुन नआउने भए पनि अन्य चिकित्सक सरह इमरजेन्सीमा रात्रि सेवा गरेको भन्दै दुई वर्षदेखि थप भत्ता लिइरहेको एक चिकित्सकले जानकारी गराएका छन् ।

निजामति सेवा ऐन र नियमावली अनुसार हाजिरी रेकर्ड नभएको पाइए विभागीय कार्वाही हुन्छ । सहायक प्रजिअ शर्माले भने–‘प्रारम्भिक अध्ययनबाट डा. बस्नेतले जागिर जोगाउनकै लागि सबै हर्कत गरेको पाइयो ।’ अघिल्लो बर्षको सञ्चित बिदा साढे १९ दिन र यस वर्षको प्रतिमहिना साढे दुई दिनका दरले पाकेको साढे २२ दिन घर विदाले कति धान्छ ।’ अस्पतालको दरबन्दी होल्ड गरेर अमेरिका बस्दा सेवा प्रवाहमा समस्या देखिएको उनले बताए । काम नगर्ने भए राजीनामा दिएर जान किने सहायक प्रजिअ शर्मा बताउँछन् । अस्पतालका निमित्त प्रमुख डा. कृष्ण शाहले स्थानीय प्रशासनले डा. बस्नेतका विषयमा सोधपुछ गरिरहेको र आवश्यक विवरण उपलब्ध गराइएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७