आईजीपी सर्वेन्द्र खनालसँगै ३ एआइजी र १८ डिआइजी विदा हुने


१४ पुष २०७६, सोमबार
sarbendra

काठमाडौं, १४ पुष । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसँगै तीन एआइजी र १८ डिआइजी एकैदिन विदा हुने भएको छ ।  २९ माघमा ३० वर्षे सेवाहदका कारण आइजिपी खनालसँगै ३ एआइजी र १८ डिआइजीले अनिवार्य अवकाश पाउने भएका हुन् ।

आइजीपी खनालसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई पनि जागिरबाट २९ माघमै घर जानेछन् । २९ माघमै प्रहरी नायव महानिरीक्षक ९डीआईजी० हरूले समेत अवकाशमा जाँदै छन् ।

अवकाश पाउने डीआईजीमा मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, पूर्णचन्द्र जोशी, कमल जीटी, दानसिंह बोहरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, रामप्रसाद श्रेष्ठ, पीताम्बर अधिकारी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरज केसी, दिनेश अमात्य, सुरेशविक्रम शाह, महेशविक्रम शाह, महेन्द्र पोखरेल छन् ।

आईजीपी खनालसहितको यो समूह २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको थियो । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् । यस्तो अवस्थामा संगठनको नयाँ नेतृत्वका लागि डीआईजीहरूले दौडधूप तीव्र पारेका छन् ।

को–को छन् आईजीपीका दाबेदार ?
२९ माघ ठुलो संख्यामा विदा हुने भएपछि नेपाल प्रहरीको भावी नेतृत्वका लागि दौडधूप सुरु भएको छ । प्रहरीमा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने अवस्था छ । एआईजी नभएको अवस्थामा सीधै डीआईजीबाटै आईजीपी बनाउनुपर्ने अवस्था आएको हो ।

खनालपछि आईजीपीका तीन दाबेदार डीआईजी हुन्, ठाकुरप्रसाद ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय । ज्ञवाली प्रदेश १ प्रहरी प्रमुख छन् । लम्साल सुदूरपश्चिम प्रहरी प्रमुख र उपाध्याय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । तीनैजना वर्तमान आईजीपी खनालका वैकल्पिक हुन् ।

उनीहरू २५ असार ०४७ बाट प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । यस्तो अवस्थामा ज्ञवाली, लम्साल र उपाध्याय मध्येबाटै प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ । ३० वर्षे सेवा अवधिका उनीहरूको पदावधि पनि ५ महिनाको मात्रै हुनेछ । तीनै जनाले आईजीपीका लागि लबिङ सुरु गरिसकेका छन् ।

त्यसका लागि शक्ति केन्द्र धाउने क्रम सुरु भएको बताइन्छ । स्रोतका अनुसार तीनमध्ये ज्ञवालीको चर्चा बढी छ । उनी १ नम्बरमा छन् । तर सरकारले डीआईजीहरू मध्येबाट जोकोहीलाई पनि उपयुक्त लागे आईजीपी बनाउन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७