कलेज जान थालिन् सांसद चौधरी, भन्छिन्, ‘बल्ल पूरा भयो बर्षौको सपना’


१४ पुष २०७६, सोमबार
santa chaudhari

काठमाडौं, १४ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज जान थालेकी छन् ।

उनी उच्च शिक्षाका लागि काठमाडौं कोटेश्वरस्थित हिमालय कलेज जान थालेकी हुन् । ड्रेस लगाएर कलेज जाने उनले कानून विषय छनौट गरेकी छन् । प्रतिनिधिसभा सांसद चौधरीले यसै वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेकी हुन् ।

उनले कलेज ड्रेस लगाएको फोटो सोमबार आफ्नो फेसबुकमा पोष्ट गरेकी छन् । ‘मलाई कानुन पढेर जान्नु छ,’ चौधरीले सुनाइन्, ‘आफू राजनीतिमा भएकाले कानूनको ज्ञान हुन जरुरी ठानेर कानुन पढाइ हुने कलेज नै रोजेकी हुँ ।’ उनले यसअघि रत्नराज्य क्याम्पस भर्ना भए पनि पढिनन् ।

santa
तस्विर : सांसद शान्ता चौधरीको फेसबुकबाट

सांसद चौधरी बिहान ६ देखि १० बजेसम्म कलेज पढ्छिन् । सामाजिक सञ्जालमा तस्विर आज मात्र राखे पनि आफू कलेज जान थालेको धेरै भइसकेको उनले बताएकी छन् । कलेज प्रशासनले हालै सबै विद्यार्थीलाई तोकिएको पोशाक लगाएर आउन सूचना जारी गरेको थियो । कलेजको सूचनापछि आफूले पनि ड्रेस तयार गरेको उनले बताएकी छन् ।

कलेज पढ्ने आफ्नो सपना बल्ल पूरा भएको बताउँदै उनले थपिन्, ‘युनिफर्ममा देखेर सरहरू खुशी हुनुभयो । विद्यार्थी साथीहरूले पनि दिदी आज त हजुर पनि हामी जस्तै देखिनु भयो भन्दै खुशी भए ।’ सांसद चौधरी १८ वर्ष कमलहरी जीवन बिताएकी थिइन् । उनी दाङ घोराहीकी हुन् । उनले तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७