ए डिभिजन लिग : जाउलाखेलद्वारा च्यासल पराजित


१५ पुष २०७६, मंगलवार
jawalakhel

काठमाडौं, १५ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अङ्क जोडेको छ ।

जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ।

खेलको ८० औं मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २–० को जीत दिलाए । पराजित च्यासलले चार खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७