‘सबैलाई एकताको सूत्रमा ल्याउन किरात अन्तर्राष्ट्रिय सम्मेलन’


१५ पुष २०७६, मंगलवार
kalpana rai uk kiraya chairman scaled

पछिल्लो समयमा बेलायतमा नेपालीहरुको उपस्थिति बढ्दै गएको छ । त्यसैमध्ये किरात राईहरुको पनि उपस्थिति बाक्लिँदै गएको छ । किरात राईहरु नेपालपछि बेलायतमा ठूलो संख्यामा रहेका छन् । जसअनुसार किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा सशक्त र क्रियाशिल पनि रहेको छ ।  आगामी २४ देखि २६ मे मा किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना हुँदैछ । १६ वटा भन्दा बढी देशहरुको सहभागिता रहने सम्मेलनलाई भब्य रुपमा बनाउन किरात राई यायोक्खा बेलायतले तयारी गरिरहेको छ । विश्वमा छरिएर रहेका किरात राईहरुलाई एकताको सूत्रमा ल्याउने उद्देश्य अनुरुप सन् २०११ देखि विश्व सम्मेलनको शुरुवात गरिएको थियो । प्रत्येक तीन बर्षको अवधिमा गरिंदै आएको सम्मेलन निर्धारित समयमा नभए पनि निरन्तर रुपमा भने आयोजना हुँदै आएको छ ।
संस्थाको गतिविधि, भावी कार्ययोजना र तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका बारेमा किरात राई यायोक्खा बेलायतका अध्यक्ष तथा किरात राई अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक कल्पना राईसँग पत्रकार किरण राईले गरेको कुराकानी :

किरात राई यायोक्खाले बेलायतमा बस्ने समग्र किरात राईहरुको हितमा कस्तो काम गरिरहेको छ ?
हामी नेपाल भन्दा विल्कुलै फरक भूगोल र टाढा बसोबास गरिरहेकाले सम्पूर्ण बेलायतबासी किरात राई दाजुभाइ दिदीबहिनीमा आपनो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण सम्बर्धन गर्दै त्यसैको माध्यमबाट गोलबन्द भएर सबैको विचार लिएर एकताको सूत्रमा बाँध्ने काममा छौं । किरात राई यायोक्खा बेलायत अन्तर्गत १४ वटा प्रारम्भिक कार्यसमिति छन् । नौ वटा भाषिक संस्थाहरु छन् । युवा, महिला, कलाकार जस्ता भ्रातृ संगठनहरु क्रियाशिल छन् । सन् २०१४ मा म नै संयोजक भएर १४७ रोपनी जग्गा खरिद गरेका छौं । किरात राईहरुको हक हितका लागि हाम्रो अङ्गहरुलाई परिचालन गरेर काम गरिरहेको छौं ।

धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक रुपमा बेलायतमा बस्ने किरात राईहरुको अवस्था कस्तो छ ?

परापूर्वकालदेखि नै हामी किरात राईहरु पितृपूजक, प्रकृतिपूजक र भूमिपूजक हौं । यिनै कुराहरुलाई बास्तविकतामा उर्तानका लागि हामीले भूमि किनेको छौं । भूमि किनेपछि प्रकृति पूजा र भूमिपूजा बास्तविकतामा उतारेर गरिरहेको छौं । यस्ता संस्कार, संस्कृतिका कुुराहरु प्रत्यक्ष गरेर नयाँ पिंढीहरुलाई हस्तान्तरण गर्न र सिकाई होस् भन्नका लागि काम गरिरहेका छौं । यसरी प्रत्यक्ष देखाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने अवस्था हुन्छ । त्यसप्रति सचेत रहँदै हामीले नयाँ आउने पुस्ता लक्षित पनि काम गरिरहेको छौं ।

यसभन्दा अगाडि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यक्ष कमलजङ्ग राईलाई नेपालबाट आमन्त्रण गरेर प्रशिक्षण र मुन्धुमको बारेमा धेरै जानकारी गराउने काम भयो । यसले बेलायतमा बस्ने किरात राईहरुमा प्रत्यक्ष फाइदा पुगेको देखिन्छ । प्रत्येक बर्ष हामी किरात राईहरु भेला भएर उधौली र उभौली गर्दै आइरहेको छौं । यसबाट हाम्रा बालबालिकाहरुले अघिल्लो पुस्ताहरुले गर्ने साकेला सिलीबारे धेरै ज्ञान हासिल गर्दै आएका छन् ।

किरात पुर्खाहरुले खोरिया फाँडेर कसरी जीविकोपार्जन गर्थे, चराचुरुङ्गीहरुको बोलीबाट ऋतुहरु परिवर्तनको पहिचान गर्ने र खेतीबाली गर्ने शैली जस्ता साँस्कृतिक कुुराहरु हाम्रा धेरै युवा, बालबालिकाहरुले सिक्दै आएका छन् । हामीले प्रशिक्षण गराएर नयाँ पिंढीहरुलाई सिकाउँदै पनि आएका छौं । धेरै युवाहरुलाई हाम्रो संस्कार, संस्कृतिको कुराहरु हस्तान्तरण गरिरहेको र भविष्यमा गर्दै लैजाने छौं । यसलाई अझै व्यापक रुपमा गर्ने हाम्रो सोंच छ ।

शुरुमा आउँदा हाम्रा दाजुभाइहरुमा आर्थिक हिसावमा धेरै कठिनाई थियो । तर, अहिले आएर सबैको आर्थिक पक्ष सवल भएको छ । धेरै त व्यापार व्यवसायमा संलग्न रहेकाले आर्थिक रुपमा प्रगति उन्मुख अवस्था छ । हाम्रो जातिमा शिक्षा हुँदैन भन्ने कुराहरुलाई तोडिएको छ । प्रत्येक बर्ष कम्तीमा पनि ५ जनाले चिकित्सा शिक्षा पूरा गरेको पाइएको छ भने अन्य प्राविधिक शिक्षा हासिल गर्ने विद्यार्थीहरु हाम्रो समुदायबाट उत्पादन भएको पाइएको छ । यस हिसावमा हाम्रो अवस्थाहरु सुधारउन्मुख छ ।

बेलायतमा बस्ने किरात राईहरुको भाषा, धर्म र संस्कारलाई बचाई राख्न के गर्नुपर्ला ?


हाम्रा नौ वटा भाषिक संस्थाहरु छन् । उहाँहरुसँग सहकार्य गर्दै आएको छौं । भाषा, संस्कार, संस्कृतिको संरक्षण सम्बर्धन गर्न प्रशिक्षण गरिरहेको र आगामी दिनहरुमा पनि गर्दै जानेछौं । भाषिक संस्थाहरुले पनि गर्दै आइरहनु भएको छ । भाषा, संस्कार र सँस्कृति हाम्रो जातिको मुख्य मेरुदण्ड भएकाले यसलाई जीवन्त राख्न हामी लागि परिरहेका छौं ।

नयाँ आउने पिंढीहरुले आफ्नो भाषा, धर्म र संस्कारप्रति पटक्कै ध्यान दिएको पाइँदैन । यस्तो अवस्था हटाउने योजना के छ ?
नयाँ भूगोल र परिवेशमा युवाहरु अल्मलिइरहेका छन् । यस्तो अवस्थामा नयाँ आउने पिंढीहरुलाई आवश्यकताको आधारमा प्रशिक्षण दिने, नेतृत्व हस्तान्तरण गर्ने जस्ता कुराहरु गदै आएका छौं । त्यसै अनुरुप हामीले युवाहरुलाई समितिलगायत अन्यमा समावेश गर्दै आएका छौं । युवा लक्षित कार्यक्रमलाई अझ बढवा दिने सोंचमा समेत छौं ।

यस पटक किरात राईहरुको अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना हुँदैछ । यसको तयारी कस्तो छ ?
आउँदो मे महिनाको २४ देखि २६ सम्म तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । यसको तयारीको कुरा गर्दा सम्मेलनको मुख्य रुपमा आयोजक किरात राई यायोक्खा नेपाल रहन्छ भने मुल व्यवस्थापन समिति किरात राई यायोक्खा नेपाल र बेलायतले संयुक्त रुपमा गर्नेछ ।

सम्मेलन बेलायतमा सम्पन्न हुने भएकाले व्यवहारिक रुपमा व्यवस्थापकीय जिम्मेवारी बेलायतको पर्न आउँछ । सम्मेलनलाई सफल पार्नका लागि विभिन्न उपसमितिहरु बनाएर कार्यविभाजन गरिसकेका छौं । कति कामहरु उपसमिति थपेर जिम्मेवारी दिनुपर्ने र काम गर्नुपर्ने अवस्था छ ।

सम्मेलनको आवश्यक तयारीका लागि हामीले विभिन्न हाम्रा स्रोत साधन र जनशक्तिलाई परिचालन गरिरहेका छौं । अन्तर्राष्ट्रिय सम्मेलनमा १६ भन्दा बढी देशहरुबाट प्रतिनिधिहरुको सहभागिता रहने छ । प्रमुख अतिथिको रुपमा सिक्किमका पूर्व मुख्यमन्त्री तथा सांसद पवन चाम्लिङ रहनु हुनेछ ।

सम्मेलनको व्यापक तयारी भइरहेको छ । हामीले विभिन्न तह तप्कामा रहनु हुने महानुभावहरुसँग समन्वय, सम्पर्क गरेर सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्न हामी निरन्तर प्रयासरत छौं । यसका लागि बेलायतमा रहनु हुने किरात राई र गैरकिरात समुदायहरुप्रति कार्यक्रम सफल बनाउनका लागि आर्थिक, भौतिक, नैतिक साथ सहयोगको आशा अपेक्षा गर्दछौं ।


किरात अन्तर्राष्ट्रिय सम्मेलन गर्नुको औचित्य के होला ? यसले के सन्देश दिन्छ ?
संसारभरी रहेका किरात राईहरुको भाषा, धर्म, संस्कार, संस्कृतिहरुलाई एकताको सूत्रमा बाँध्न र एकआपसमा भाइचारा दृष्टिकोण बढाउनु किरात अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य ध्येय हो । यसबाट फरक फरक देशमा रहेको हाम्रो रहनसहन, संस्कार, संस्कृतिको बारेमा खुलेर छलफल गर्ने गरिन्छ ।

आगामी दिनहरुमा किरात राईहरुका भाषा, धर्म, संस्कार, संस्कृतिको बारेमा के–के गर्न सक्र्छौ भनेर बृहत्तर रुपमा छलफल पनि गछौं । सम्मेलनको अवधिमा भएको गहन छलफल र त्यसबाट निस्केको निचोडलाई घोषणा सभा गरेर सार्वजनिक गर्नेछौं । सम्पूर्ण देशहरुमा छरिएर बसेका किरात राईहरुलाई एउटै छाताभित्र ल्याउनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरेको हौं । यसले सबैलाई एकजुट बनाउने छ भन्ने हाम्रो अभिप्राय रहेको छ ।

किरात राई यायोख्खा बेलायतले कस्तो दूरगामी लक्ष्य राखेको छ ?


किरात यायोक्खा बेलायत एउटा माङखिम घर तत्कालै बनाउने सोंचमा छ । यसको तयारी व्यापक रुपमा भइरहेको छ । यो बनाइसकेपछि पूजा आराधनाको काम पनि सहज रुपमा गर्न सक्नेछौं ।

अहिले हामीसँग धेरै बिजुवाहरु पनि हुनुहुन्छ, उहाँहरुको उचित सम्मान गर्दै स्थान दिएर संरक्षण गर्दै लैजाने काममा छौं । विभिन्न बिषयका विज्ञ बुद्धिजीविहरुसँग सहकार्य गर्दै विषयविज्ञहरुलाई नेपालबाट झिकाएर गोष्ठीहरु गर्ने गराउने सोंचमा पनि छौं । अहिले बेलायतको परिप्रेक्ष्यमा आवश्यकता महसुस गरेको किरात राई प्रतिष्ठानलाई पनि चाँडै नै स्थापना गर्नेछौं ।

अन्त्यमा किरात राई यायोक्खा बेलायतको अध्यक्षको हैसियतमा तपाईको केही भनाईहरु राख्नु हुन्छ ?


अन्त्यमा बेलायत बस्ने नेपाली दाजुभाइ दिदीबहिनी तथा किरात दाजुभाइ दिदीबहिनीहरुमा मे २३ तारिखको दिन साकेला उभौली आयोजना हुँदैछ त्यसपछि निरन्तरमा रुपमा २४ देखि २६ सम्म किरात राई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ । दुईवटा कार्यक्रम निरन्तर क्रमशः हुने भएकाले यो ऐतिहासिक कार्यक्रममा आर्थिक, भौतिक, नैतिक साथ सहयोगका लागि सम्पूर्ण नेपाली समुदायहरुप्रति आह्वान गर्दछु । साथै यही मिडियाबाट उक्त कार्यक्रममा सहभागी भई दिनु हुनका लागि हार्दिक आग्रह पनि गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७