गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड


१९ पुष २०७४, बुधबार
Prachanda

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन भन्दा बाहिरबाट आफू प्रधानमन्त्री नबन्ने स्पष्ट पारेका छन् ।Prachanda

वाम गठबन्धन बाहिरबाट प्रचण्डलाई प्रधानमन्त्रीको निम्तो आइरहेको चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले कांग्रेस समर्थनमा आफूलाई प्रधानमन्त्री बन्ने रुची नभएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि प्रचण्डले त्यस्तो बताएका हुन् । उनले भने–‘मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन’–प्रचण्डले थपे–‘पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैका निम्ति भएकाले मैले अहिले गठबन्धन भन्दा बाहिर जाने सोचेको छैन ।’

उनले पार्टी एकताको विषयलाई औपचारिक रुप दिन मात्र बाँकी रहेको पनि दाबी गरे । ‘पार्टी संयोजन समितिमा दुई जना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिन मात्र बाँकी छ ।’ परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भएता पनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे । पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७