विभागीय टोली पुलिसको जीत


१६ पुष २०७६, बुधबार
Police Club

काठमाडौं, १६ पुस । नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जीत दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जीत दर्ता गराएको हो । जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

पुलिसको जितमा दुवै गोल सुमन लामाले गरे । खेलको १५ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १८ औं मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित भए । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७