भ्रमण वर्षको पहिलो दिन यसरी गरियो देशैभर पर्यटकलाई स्वागत (फोटो फिचर)


१६ पुष २०७६, बुधबार
tourist

काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्षको पहिलो दिन आज (बुधबार) पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटकहरुलाई विभिन्न कार्यक्रम आयोजना गरी स्वागत गरिएको छ ।

पूर्वको ताप्लेजुङ्ग, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरीका पर्र्यटकीयस्थल पुगेका विदेशी पर्यटकलाई स्वागत गरिएको छ । यस्तै काभ्रे, चितवन, भक्तपुरलगायतका महत्वपूर्ण पर्यटकीयस्थलमा पुगेका विदेशी पर्यटकलाई स्वागत गरिएको हो । काठमाडौंको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल भएर नेपाल आएका पर्यटकहरुलाई विमानस्थलमै स्वागत गरिएको छ । उनीहरुलाई माला र खादा ओढाएर स्वागत गरिएको छ ।

सोही क्रममा चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा, झापाको पूर्वी नाका काँकडभिट्टाबाट आएका भारतीय पर्यटकलाई रुद्राक्षको माला लगाएर स्वागत गरिएको छ । यस्तै भक्तपुर दरबार क्षेत्रमा पुगेका पर्यटकलाई मेयर सुनिल प्रजापति आफैले स्वागत गरेका छन्।

आजदेखि शुरु भएको भ्रमण वर्षको उद्घाटनमा अपराह्न त्रिपुरेश्वरस्थित रङ्गशालामा औपचारिक कार्यक्रम नै राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।

यसैबीच, त्रिभुवन विमानस्थलले बिहानै फ्लाई दुवईका यात्रुलाई खादा लगाएर सम्मान गरेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले नेपालमा पहिलो अवतरण गरेका सबै यात्रुलाई खादा लगाएर सम्मान गरेको जानकारी दिएका छन् ।

नेपालभर भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउँदै प्रदेश सरकार तथा स्थानीय तहले समेत पर्यटकलाई खादा, फूल तथा नेपाली ढाका टोपी लगाएर सम्मान गरेका छन् ।

पर्यटन बोर्डका अनुसार विमानस्थलमा यति अर्थात् हिममानवको मस्कट राखिएको छ । यसले मस्कटमा सेल्फी खिच्छ, त्यसलाई केही छुटसहितको कुपन बाँडिएको जानकारी दिए । बोर्डले साढे दुई सय कुपन बाडेको जानकारी दिएको छ । बोर्डले विभिन्न पर्यटन व्यवसायीबाट संकलित कुपनमा सेल्फी खिचेबापत २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिएको छ । तस्विरहरु : रासस
हेर्नुस् तस्विरहरु

tourism 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७