‘विश्व समुदायको दिल दिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौं’


१६ पुष २०७६, बुधबार
visit nepal 2020 8 scaled
sf7df8f}F, !^ k’;M;+:s[ltdGqL e§/fO{af6 g]kfn e|d0f jif{sf] z’ef/Dedf :jfut dGtJo ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{ sf7df8f}Fsf] bz/y /ªuzfnfdf a’waf/ cfof]lht ljz]if ;df/f]xdf …g]kfn e|d0f jif{ ;g @)@)Ú sf] z’ef/De qmddf :jfut dGtJo JoQm ub}{ . t:jL/M k|bLk/fh jGt÷/f;;

सर्बप्रथम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमर्ण वर्ष–२०२०को मुल आयोजक समितिको तर्फबाट यहाँहरूलाई ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को समुद्घाटन समारोहमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । नयाँ वर्ष–२०२०को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, उर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को आरम्भ भएको छ । देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र संसारभरिका सम्पूर्ण जनसमुदायमा म नयाँ वर्ष २०२०को मंगलमय शुभकामना व्यक्त गर्दछु र नेपाल भ्रमणको निम्तो बाँड्न चाहन्छु ।


हाम्रा अग्रजहरूको बलिदान र नेपाली जनताहरूको लामो संघर्षको जगमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संविधान कार्यान्वयनसँगै हामीले राजनीतिक विभेद र असमानताहरूको अन्त्य गरेका छौं । संविधान जारी भएपछिको निर्वाचनबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बलियो र स्थायी सरकार बनेको छ । सातैवटा प्रदेशमा स्थायी सरकार बनेका छन् । ७ सय ५३ स्थानीय तहमा ३६ हजार ६ सय ३९ जना निर्वाचित जनप्रतिनिधिहरू कार्यरत हुनहुन्छ । संघदेखि स्थानीय तहसम्म आवश्यक कानुनहरू निर्माण भएका छन् । अब यससँगै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको छ । अब हामीले आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामूलक समाज निर्माण गर्नु छ । मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजानु छ । हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने बाटोमा हामी अग्रसर भएका छौं । अबको हाम्रो बाटो र उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । हो, त्यही महाअभियानको एउटा कार्यक्रम हो, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ । यो अवसरमा विश्व समुदायलाई म अनुरोध गर्न चाहन्छु,
 नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ । नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छ । आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ हो ।
 नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।
 नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस् ।
 नेपाल धार्मिक रुपले संसारकै विशिष्ट मुलुक हो, यहाँका पवित्र धार्मिकस्थलहरू पुगेर जीन्दगीभरिका लागि पवित्रता प्राप्त गरेर जानुहोस् ।
 नेपाल जैविक विविधताका हिसाबले संसारकै अग्रणी मुलुक हो, यहाँका पन्छी, वन्यजन्तु र वनस्पतिसँग रमाएर जानुहोस् । जिन्दगीभरिका लागि अविश्मरणीय र अमिट सम्झना संगालेर जानुहोस् ।

२) वास्तवमा नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य हो । यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र परम्परा, ऐतिहासिक धरोहरहरू साँच्चै नै विश्वलाई मोहित र अचम्मित पार्ने खालका छन् । ‘अतिथि देवो भव’को मान्यतामा नेपालीहरूको अथिति सत्कार विश्वमै उत्कृष्ट मानिन्छ । पर्यटनमा विश्वभरिका मुलुकहरूको आ–आफ्ना विशेषता छन् । पर्यटकहरूको जिज्ञासा हुन्छ, ‘कुन देशमा के छ ?’ तर नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैन ? सबथोक छ ।’ ‘के का लागि नेपाल जाने ?’ हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने ।’ पर्यटनमा ‘सिजन’को कुरा हुन्छ । कुन ‘सिजन’मा कहाँ जाने ? तर नेपाल त्यस्तो मुलुक हो, जहाँ हरेक ‘सिजन’ पर्यटकका लागि विशेषतायुक्त छ । त्यसैले हामी भन्छौं, ‘नेपाल सबै खालको पर्यटन र सबै सिजनका लागि उपयुक्त छ ।’ संसारकै सबैभन्दा उच्च हिमशृङ्खला नेपालमा छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ वटा हिमाल नेपालमा नै छन् । पर्वतारोहण, पदयात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिहरूको प्रमुख स्रोत यही हिमालहरू हुन् । हाम्रा नदीहरूमा जस्तो ¥याफ्टिङको रोमाञ्चकता अरु मुलुकमा पाउन कठिन छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी यहीँ छ । यहीँ छ, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल पनि । पवित्र तीर्थस्थलहरू मुक्तिनाथ, जनकपुुरधाम, हलेसी, पाथीभरा, खप्तड, स्वर्गद्धरी यहीँ छन् । यहाँका २० वटा संरक्षित क्षेत्रहरूले देशको २३.२३ प्रतिशत क्षेत्रफल ओगटेको छ । विश्व सम्पदा सूचीमा रहेका अनेकौं सम्पदाहरू यहीँ छन् । यहाँका ४ वटा क्षेत्रहरू चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौं उपत्यका, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

काठमाडौं उपत्यकामा रहेका सावटा सम्पदाहरू काठमाडौं दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यहाँको जातीय, भाषिक विविधता र सांस्कृतिक विशिष्टिता झनै महत्वपूर्ण छ । भौगोलिक रुपमा सानो मुलुकमा १ सय २५ जातजाति र १ सय २३ भाषाहरू छन् ।
जैविक विविधता यहाँको अर्को अद्धितिय विशेषता हो । नेपालमा कूल ८ सय ७२ प्रजातिका चरा पाइन्छन्, जुन सङ्ख्या विश्वकै ९ प्रतिशत हो । हामीकहाँ १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १ शिकार आरक्ष, १२ वटा मध्यवर्ती क्षेत्र र १० वटा रामसार क्षेत्र छन् ।

नेपालले विश्वको भूगोलमा जम्मा ०.१ प्रतिशत जमिन ओगटेको छ । तर, जैविक विविधताका हिसाबले संसारमै धनीदेशहरूमध्ये नेपाल पनि पर्दछ । नेपालको भौगोलिक विविधतामा ११८ प्रकारको पारिस्थिकीय प्रणालीभित्र ३५ थरीका वन र २४८ थरीका रैथाने वनस्पतिहरू पाइन्छन् ।
नेपाल पर्यटकहरूको लागि आफैमा एउटा पूर्ण प्याकेज हो । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै ‘नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिविम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । …यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?’

३) नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ । सन् १९५१ पछि मात्र नेपाललाई विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो । साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो परिवर्तन आइसकेको छ । अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना छ । त्यसैले सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ अभियान घोषणा गरेको हो । आज नै सातैवटै प्रदेशहरूमा पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने संकल्पसहित यो शुुभारम्भ गरिरहेका छौं । यो राष्ट्रिय उत्वसमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन ।

त्यसैले हामीले सन् ‘२०२०’लाई प्रस्थानविन्दुका रुपमा मान्ने छौं । ‘२०२०’ ले पर्यटनको लागि राष्ट्रिय मनोविज्ञान तयार पार्नेछ । यसबाट पर्यटनको नयाँ क्षितिज उदाउनेछ । यसले पर्यटनको नयाँ बाटो र उज्यालो तय गर्नेछ । त्यही बाटो र उज्यालोलाई पछ्याएर २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं ।

पर्यटनबाट नेपालको कुल ग्रार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हँुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेका छन् । अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य रहेको छ ।

४) पर्यटनको लागि ‘कनेक्टिभिटी’ असाध्यै महत्वपूर्ण छ । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिएको छ । खासगरी हवाई पूर्वाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल हो । नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल बनिरहेको छ । यो छिट्टै नै सञ्चालनमा आउनेछ । पोखरा क्षेत्रीय विमानस्थल धमाधम बनिरहेको छ । यो २०२१ देखि सञ्चालनमा आउनेछ । बारा स्थित निजगढ अन्तराष्ट्रिय विमानस्थलसरकारको उच्च प्राथमिकताको राष्ट्रिय गौरवको आयोजना हो । हामीले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नका लागि निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अनिवार्य छ । त्यसैले यो विमानस्थल हाम्रो लागि निर्विकल्प हो । त्यसमा राष्ट्रिय सहमति कायम भएकोमा म खुसी व्यक्त गर्न चहान्छु । आन्तरिक विमानस्थलहरूको स्तरोन्नति र व्यवस्थापनलाई तीव्रता दिएका छौं ।

५) पर्यटनबाट प्राप्त हुने राजस्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने हाम्रो लक्ष्य छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्रान्डिङ, मानव संशाधनको विकास, सांस्कृतिक सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन–अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको छ ।

नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउने हाम्रो कार्यक्रम छ । निजी क्षेत्रले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को तयारीमा देखाएको सक्रिय सहभागिता र आगामी अभियानका लागि जाहेर गरेको प्रतिबद्धता असाध्यै सराहनीय छ । यो सहभागिता र प्रतिबद्धताको म उच्च प्रशंसा व्यक्त गर्न चाहन्छु । आगमी दिनमा निजी क्षेत्रसँगको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाइनेछ । पर्यटन प्रवद्र्धननका लागि क्रियाशील पर्यटनसँग सम्बद्ध संघ, संस्थाहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकहरूलाई पनि म धन्यवाद भन्न चहान्छु ।

‘नेपाल भ्रमर्ण वर्ष–२०२०’कोे शुभारम्भको यस अवसरमा म यहाँहरूलाई भन्न चाहन्छु, यो हाम्रो राष्ट्रिय उत्वसको शुभारम्भ हो । त्यस्तो उत्सव जसले हाम्रो राष्ट्रिय आकांक्षा र हाम्रो समृद्धिको सपनाहरूलाई सफलाततिर उन्मुख गराउनेछ । विपनामा परिणत गर्नका लागि सहयोग गर्नेछ । अब हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं । पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं । र, विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौं ।
अन्तमा ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को उद्घाटन गरीदिनु हुने सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । उपस्थितिको लागि सम्माननीय उपराष्ट्रपतिज्यूप्रति आभार व्यक्त गर्दछु । महत्वपूर्र्ण मार्गदर्शनको निम्ति सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । उपस्थित सबै विशिष्ट अतिथिहरू, बिभिन्न देशका माननीय पर्यटन मन्त्रीज्यूहरू, कूटनीतिक नियोगका प्रमुखज्यूहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चहान्छु । यो समुद्घाटनलाई भव्य बनाउनका निम्ति सहभागी सबै सबैप्रति आभार प्रकट गर्न चाहन्छु । धन्यवाद व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !

(नेपाल भ्रमर्ण वर्ष–२०२०’ को समुद्घाटन समारोहमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिएको मन्तव्यको पूर्ण पाठ) 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७