उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध


१७ पुष २०७६, बिहीबार
snow

बैतडी, १७ पुस । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यस वर्ष मंसिरको अन्तिम साता पहिलो पटक हिमपात भएकोे थियो ।

गए रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।
हिमपातले बाहिर निस्कन समेत मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिए । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।

बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७