नेकपा सचिवालय बैठक : सभामुख र राष्ट्रियसभा उम्मेदवारबारे छलफल जारी

काठमाडौं, १८ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहानदेखि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैठक चलिरहेको छ ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेद्वार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन ।
राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।
बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशन समेत प्रभावित भएको छ । सभामुख पदका लागि पूर्व एमालेबाट सुवास नेम्वाङ र पूर्व माओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।