वर्षातले उड्डयन क्षेत्र प्रभावित


१८ पुष २०७६, शुक्रबार
airlines

काठमाडौं, १८ पुस । सामान्य वर्षातले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिक रुपमा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

सामान्य तुवालोसहितको वर्षातले दृष्टिक्षेत्र ( भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा केहि समस्या भएको छ । यन्त्रको सहायताबाट विमान चालकले हेर्ने दृष्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको उनले बताए । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ ।

वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७