बाजुरामा भारी हिमपात र वर्षा


१८ पुष २०७६, शुक्रबार
snow

बाजुरा, १८ पुस । बाजुरामा बिहीबार अपरान्ह्देखि दोस्रो पटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कन समेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रूपमा बन्द छन् । हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको गौमुलका रामबहादुर बुढाले जानकारी दिए ।

चिसो छल्न बेंसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् ।

चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोटलगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीयवासीलाई दैनिक कामकाज गर्न समेत समस्या भएको छ । अहिले बाजुराको तापक्रम शून्य डिग्री तापक्रम छ । यसअघि मंसिर दोस्रो साता पनि बाजुराको सदरमुकामसम्मै भारी हिमपात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७