फरार गुण्डा ‘राते’ पक्राउ

काठमाडौं, १८ पुस । व्यक्ति हत्या प्रयासपछि फरार गुण्डा ‘राते’ भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
१८ चैत ०७५ मा काठमाडौंको ठमेलस्थित एलओडी क्लव अगाडि बिष्णु कठायतको हत्या प्रयासपछि उनी फरार थिए । सो समय राते र रेम्बो भनिने अजय गुरुङले कठायतको टाउकोमा रड हानेका थिए ।
प्रहरीले उजुरीका आधारमा खोजी गरेको थियो । तर उनीहरू लामो समयदेखि फरार थिए । आक्रमण गर्नेमध्येका राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका नयाँबजार–१६ बस्ने श्रेष्ठलाई विहीबार राति पक्राउ गरेको जनाएको छ ।
पक्राउपछि थप अनुसन्धान र कारबाही प्रक्रिया बढाउन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्र लैनचौरमा पठाइएको महाशाखाले जनाएको छ । घटनामा संलग्न रहेका अर्का रेम्बो भन्नेको खोजी कार्य जारी रहेको जनाइएको छ ।