विमानस्थलबाट दुई किलो सुनसहित फेरि भारतीय नागरिक पक्राउ


१८ पुष २०७६, शुक्रबार
gold

काठमाडौं, १८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित फेरि दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले जानकारी दिएका छन् । उनीहरुले तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी सुन ल्याएको प्रहरीले जनाएको छ ।

यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो । यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

सरकारले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी गरिएको थियो । तर, तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् ।

तस्करी रोक्न अलम्बन गर्नुपर्ने विधिबारे सुझावसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय विमानस्थलबाट लगातार सुनसहित भारतीय नागरिक पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७