भ्रमण वर्ष उद्घाटन हजार माइलको यात्राको भव्य र सुखद् शुरुवात : पर्यटनमन्त्री


१९ पुष २०७६, शनिबार
yogesh bhattarai paryetan mantri.00 07 10 16.Still001

काठमाडौं, १८ पुस :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष- २०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताएका छन् ।

‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्षको भव्य उद्घाटन समारोहमा सक्रियता जनाएर उत्साह प्रदान गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले भ्रमर्ण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने सरकारको संकल्पको सुखद् सुरुआत भएको बताए । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । ‘संङ्ख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौँ । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियान भरि सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ’, पर्यटनमन्त्रीले विज्ञप्तिमा भनेका छन् ।

उनले भ्रमण वर्षको यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुने र त्यसलाई सम्पन्न गर्न विदेशस्थित नेपाली कुटनीतिक निगोग तथा गैरआवासीय नेपाली सङ्घलगायत प्रवासमा रहेका नेपाली शुभचिन्तकलाई हार्दिक आग्रह गरेका छन्।

पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानिएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसका लागि आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्षा गरिएको उल्लेख गरे ।

उनले भने, ‘भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । समुद्घाटन कार्यक्रमलाई हामीले भ्रमण वर्ष उद्घाटन हजार माइलको यात्राको भव्य र सुखद् शुरुवात मानेका छौँ । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिलसमेत गर्दछु” विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमन्त्री भट्टराईले विशेष गरी काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक आभार प्रकट गरेका छन् । भ्रमण वर्षको मार्गदर्शनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आभार प्रकट गरेका छन्। पर्यटनमन्त्रीले तयारीदेखि उद्घाटनसम्म सहभागिता जनाउने नेपालस्थित विभिन्न देशका राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखप्रति पनि हामी आभार प्रकट गरेका छन् ।

भ्रमण वर्षको अङ्ग्रेजी नयाँ वर्ष सन्–२०२० जनवरी १ तारिख (पुस १६ गते)  काठमाडौँको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको मुख्य पर्यटकीय स्थानमा उद्घाटन भएको थियो । दशरथ रङ्गशालासँगै प्रदेश नं १ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा समुद्घाटन भएको थियो ।

यसैगरी प्रदेश नं ५ को बर्दियास्थित ठाकुरद्वारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको पर्यटनमन्त्रालयले जनाएको छ ।  

मन्त्री भट्टराईले जारी गरेको धन्यवाद ‘नोट’

अंग्रेजी नयाँ वर्ष सन्–२०२० को उज्यालो बिहानीसँगै नयाँ आशा, उत्साह, उर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को भव्य शुभारम्भ भएको छ । काठमाडौंको दशरथ रङ्गशालासँगै प्रदेश नम्बर–१ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकारी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा भव्य समुद्घाटन भएको छ । यसैगरी प्रदेश–५ को बर्दियास्थित ठाकुरद्धारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको छ ।

काठमाडौंको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको समुद्घाटन समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ लाई सफल पार्नका लागि सिङ्गै देश जुरुक्कै उठेको अनुभूति भएको छ । ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ समुद्घाटनको तयारीका क्रममा भनेका थियौं, ‘यो राष्ट्रिय उत्सव हो ।’ यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने हाम्रो संकल्पको सुखद शुरुवात भएको छ । तपाई हामी सबैको सक्रियता र सहभागिताले समुद्घाटन कार्यक्रमलाई राष्ट्रिय उत्सव बनाउन सफल भएका छौं । सर्बप्रथम संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिको तर्फबाट म यो उत्सवमा सहभागी सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

विशेष गरी काठमाडौंको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनु हुने सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु । महत्वपूर्ण मार्गदर्शनका निम्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति आभार प्रकट गर्दछु । कार्यक्रममा उपस्थित भई दिनु हुने राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, राजनीतिक दलका नेता ज्यूहरू, बिभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरू र संघीय सरकारको माननीय मन्त्रीज्यूहरूप्रति आभार प्रकट गर्दछु ।

यसैगरी प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरू, प्रदेश सभाका सभामुख ज्यूहरु, प्रदेश सरकारका माननीय मन्त्री तथा माननीयज्यूहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीज्यूहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी ज्यूहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यसैगरी कूटनीतिक नियोगका प्रमुखज्यूहरू, सुरक्षा निकायका प्रमुखज्यूहरु, विदेशी नियोगका प्रमुख ज्यूहरू, विशिष्ट अतिथिहरू, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू, सुरक्षाकर्मी साथीहरू, देश तथा विदेशबाट पाल्नु भएका सञ्चारकर्मी साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । तयारीदेखि उद्घाटनसम्म सहभागी भई दिनु हुने नेपालस्थित विभिन्न देशका महामहिम राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरुप्रति पनि हामी आभारी छौं ।


कार्यक्रमलाई भव्य बनाउन अहोरात्र क्रियाशिल ‘नेपाल भ्रमण वर्ष–२०२०’ मुल आयोजक समितिका सदस्यज्यूहरु, कार्यक्रम कार्यान्वयन उपसमिति एंव ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालयलाई धन्यवाद भन्न चाहन्छु । यसैगरी बिभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध बिभिन्न संघ–संगठन, पर्यटन व्यवसायीहरु, निजी क्षेत्रसँग सम्बद्ध संघ–संस्थाहरु, स्थानीय तह, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक संघ–संगठन, स्वयमसेवी संस्थाहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरु पनि धन्यवादका पात्र हुनुहुन्छ । समुद्घाटन समारोहमा आफ्नो कला प्रदर्शन गर्नु हुने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद भन्न चाहन्छु ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौं । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियानभरी सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ ।

अब यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुदैछ । यसलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विदेशस्थित नेपाली कुटनीतिक निगोग तथा गैरआवासीय नेपाली संघ लगायत प्रवासमा रहनु भएका नेपाली शुभचिन्तकहरुलाई हार्दिक आग्रह गर्दछु ।

यहाँहरुलाई थाहा छ, पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानेका छौं । यसका लागि आगामी दिनमा पनि यहाँहरुको यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्ष गरेको छ । भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ ।’ समुद्घाटन कार्यक्रमलाई हामीले हजार माइलको यात्राको भव्य र सुखद शुरुवात मानेका छौं । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिल समेत गर्दछु ।

धन्यवाद ।
मिति :  १८ पुस २०७६

योगेश भट्टराई
मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७