चीन-नेपाल सम्बन्धलाई झिनामसिना मुद्दाले खासै प्रभाव पार्दैन : राजदूत होउ यान्छी

‘एमसीसीमा नेपाल स्वतन्त्र छ’


१९ पुष २०७६, शनिबार
chinse ambassador to nepal

काठमाडौं, १८ पुस :  चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन्।

‘नेपाल एउटा अल्पविकसित देश हो। नेपाललाई चीनबाट मात्र होइन, अन्य अन्तर्राष्ट्रिय समुदायबाट पनि विकासका लागि साथ सहयोग चाहिन्छ,’ उनले चिनियाँ दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘नेपालका लागि आउने कुनै पनि प्रकारको सहयोगलाई हामी स्वागत गर्छौं, यदि यो आर्थिक सहयोगको अर्थमा हो भने।’

राजदूत होउले करिब ५६ अर्ब रुपैयाँ अमेरिकी अनुदान सहयोग रहेको एमसीसी संसद्बाट अनुमोदन हुने प्रक्रिया नियालिरहेको बताइन्। अमेरिकासँगको यो सम्झौतालाई लिएर सत्तारूढ नेकपा स्थायी समिति बैठकमा विवाद छ। नेकपाका केही नेताले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडेर संसद्बाट पारित गर्न नहुनेमा जोड दिँदै आएका छन्।

नेपालका राजनीतिक दलहरु, सरकार र संसदमा यसलाई अनुमोदन गर्नेबारे व्यापक छलफल भइरहेको र यसबारे नेपालले आफैं स्वतन्त्र निर्णय लिन सक्षम रहेको उनले बताइन्।

‘आर्थिक र व्यापारिक सहयोगबारे नेपालले आफैं निर्णय लिनसक्छ भन्ने हाम्रो विश्वास छ, अरु कुनै शक्तिले हस्तक्षेप गर्नु आवश्यक छैन’, चिनियाँ दुतावासले शुक्रबार बिहान बालुवाटारस्थित दुतावासमै आयोजना गरेको पत्रकार सम्मेलनमा राजदुत होउले भनिन्।

सम्बन्ध थप उचाइमा

राजदूत होउले नेपाल र चीनको सम्बन्ध मित्रतामा मात्र नभई विश्वासमा अडेको बताएकी छन्। उनले नेपालको विकास यात्रामा चीन सधैं सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पारेकी छन्। दुवै मुलुकका राष्ट्रपति र अन्य उच्चस्तका भ्रमणपछि दुईपक्षीय सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ। सन् २०१९ मा नेपाल–चीन सम्बन्ध उचाइमा पुगेको विश्वास व्यक्त गर्दै राजदूत होउले भनिन्, ‘राजनीति, अर्थतन्त्र, व्यापार, वाणिज्य र जनस्तरको सम्बन्धमा समेत तीव्र विकास भइरहेको छ।’

राजदूत होउले नेपाल र चीन सम्बन्ध मित्रतामा मात्र नभई विश्वासमा अडेको बताइन्। उनले भनिन्, ‘राजनीति, अर्थतन्त्र, व्यापार, वाणिज्य र जनस्तरको सम्बन्धमा तीव्र विकास भइरहेको छ।’ भूपरिवेष्टित नेपाललाई भू–जडित बनाउँदै समृद्धि र विकासमा केन्द्रित हुन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)  परियोजना अघि बढाइएको उनले स्पष्ट पारिन्। उनले नेपाल–चीनबीचको सुमधुर सम्बन्ध नरुचाउने केही तत्वबाट जोखिम रहेको अवस्था नकार्न नमिल्ने बताइन्। होउले भनिन्, ‘चीनले आतिथ्य रहने मुलुकको ऐनकानुनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा कहिल्यै गर्दैन।’

चीनले अपराधीलाई कानुनी दायरामा ल्याउन सघाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। ‘चीनको राष्ट्रिय स्वार्थ र सुरक्षामा नेपालबाट जोखिम छैन,’ उनले भनिन्, ‘अवाञ्छित तत्वबाट सचेत रहनुपर्ने आवश्यकता पनि बेइजिङले औंल्याउँदै आएको छ। पारस्परिक विश्वास र सहयोगमा आधारित चीन–नेपाल सम्बन्धलाई झिनामसिना मुद्दाले खासै प्रभाव पार्दैन।’

पर्यटक भिसामा नेपाल आएर गैरपर्यटकीय गतिविधिमा संलग्‍न हुनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीलाई सूचना र सहयोग प्रदान गरिरहेको उनको भनाइ छ। उनले भनिन्, ‘यस्तो सहकार्य निरन्तर जारी रहनेछ।’ केही दिनअघि प्रक्राउ परेका चिनियाँ अहिले प्रहरी हिरासतमा छन्।

‘दुइ प्लस एक भनेको त्रिपक्षीय’

भारत र चीन प्लस नेपालको (टू प्लस वन) अवधारणाबारे उनले यसको अर्थ त्रिपक्षीय नै हुने बताइन्। एउटा पक्ष नेपाल रहने र सबै सहयोग लगायतका कुराहरु नेपालको माग र आवश्यकताका आधारमा हुने उनको धारणा थियो। उनले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यलाई नै टु प्लस वान (दुई जोड एक)  ढाँचामा अघि बढाएको स्पष्ट पारिन्। उनले भनिन्, ‘व्याख्या जे गरे पनि यसको चुरो त्रिपक्षीय सहकार्य हो। भारत र चीनले नेपाललाई निर्देशन दिन सक्दैन। त्यसैले नेपालले स्वतन्त्र रूपमा धारणा राख्‍न सक्छ।’

भारत र चीन प्लस नेपालको (टू प्लस वन) अवधारणाबारे उनले यसको अर्थ त्रिपक्षीय नै हुने बताइन्। एउटा पक्ष नेपाल रहने र सबै सहयोग लगायतका कुराहरु नेपालको माग र आवश्यकताका आधारमा हुने उनको धारणा थियो।

यस्ता सहकार्यमा नेपालले अपनाउने मोडल के हो भन्‍नेबारे आफैं स्पष्ट हुनुपर्ने उनको सुझाव छ। गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनिफङको नेपाल भ्रमणका बेलामा पनि यसबारे छलफल भएको थियो। प्लस वानमा रहँदा नेपालको हैसियत घट्ने भन्दै प्रधानमन्त्री केपी ओलीले त्रिपक्षीयबाहेक अन्य छलफल गर्न नसकिने बताएका थिए।

राजदूत होउले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्त रूपमा तालिम दिइरहेको जानकारी दिइन्। उनले त्यहाँ अमेरिका र चीनको सहकार्य रहेको उदाहरण दिइन्। भेरी बबईमा नेपालको लगानीमा चिनियाँ ठेकेदार र अमेरिकी प्रविधि उपयोग भएको उदाहरण पनि राजदूत होउले दिइन्।

‘अवैध काम गर्नेलाई संरक्षण गर्दैनौं’

पछिल्लो समय चीनबाट कैयौं चिनियाँ नागरिकहरु पर्यटन भिसामा नेपाल आउने तर यहाँ आएर साइबर अपराधमा संलग्न हुने गरेको पाइएपछि नेपालमा त्यस्ता साइबर अपराधी विरुद्ध अपरेसन गर्न चीनले सहयोग गरेको उनले खुलाइन्।

‘चीनमा रहेका केहि चिनियाँ नागरिकहरु यो अपराधबाट पीडित भइसकेका छन्। त्यसैले चिनियाँ पक्षले केहि जानकारी नेपाली पक्षलाई प्रदान गरेको थियो,’ उनले भनिन्। ‘यो नेपालको सार्वभौमरुपमा नेपाल प्रहरीले गरेको कदम हो।’

अहिले हिरासतमा रहेका झन्डै १२० जना चिनियामाथि दुवै पक्षबाट छानविन भइरहेको र त्यसबारे थप जानकारी आएपछि प्रष्ट पारिने उनले बताइन्। ‘स्वस्थ पर्यटन बजारका लागि यस्ता कदम आवश्यक छ। हामीले विदेशमा रहेका चिनियाँ नागरिकको वैधानिक अधिकारको संरक्षण गर्छौ तर अवैध कामको संरक्षण गर्दैनौं,’ उनले थपिन्।

चीनले बेइजिङमा पत्रकार सम्मेलन गरेर उठाउनुपर्ने विषयलाई काठमाडौंसम्म ल्याएको छ। राजदूत होउले आफ्नो आन्तरिक विषयलाई काठमाडौंमा उतार्नुको अर्थ हङकङ र सिजियानमा नेपालको साथ पनि खोजेको देखिन्छ।

‘नेपाल र चीन विकासोन्मुख राष्ट्र भएकाले साझा हित र चासोका विषयमा नेपालको सक्रिय साथ र सहयोगको आशा पनि चीनले गरेको छ,’ उनले भनिन्, ‘केही पश्चिमा मुलुकले चीनको समृद्धि देख्न नचाहेको र छिमेकसँग राम्रो सम्बन्ध पनि नचाहेको स्पष्टै छ। हङकङ र सिजियाङको विषय उछालेर चीनमाथि निरन्तर आक्रमण भइरहेको छ।’

चीन सरकारले आफ्नो संविधानअनुसार ‘एक राष्ट्र दुई पद्धति’ को आधारभूत राष्ट्रिय नीति अवलम्बन गर्दै शान्ति र एकताका लागि काम गरिरहेको राजदूत होउको भनाइ छ।

पहिला सडक र सुरुङ अनि रेल

राजदूत होउले नेपाल र चीनबीच हिमालय वारपार सहकार्यका धमाधम सहमति भइरहेको बताइन्। सडक र सुरुङमार्ग निर्माणपछि मात्र रेलमार्ग बन्‍ने उनको भनाइ छ। राजदूत होउका अनुसार रेलमार्गको अध्ययन सुरु भइसकेको छ। ‘रेलमार्ग जटिल कार्य हो। तर यसलाई चिरेर अघि बढ्नेछौं। सीमा वारपार सहकार्य अघि बढ्नेछ,’ उनले भनिन, ‘सम्बन्धमा सडक, सुरुङ र रेलले ठूलो भूमिका निर्वाह गर्नेछ। साथै हवाई सम्पर्कले पनि उत्तिकै महत्त्व राख्छ।’

सन् २०१९ मा दुई देशबीच आर्थिक, सामाजिक, राजनीतिक, व्यापारिक तथा जनता–जनताबीचको सम्पर्क र सम्बन्ध विस्तारमा उल्लेख्य प्रगति भएको राजदूत होउको दाबी छ। उनले विगत चार वर्षदेखि चीन नेपालमा सर्वाधिक लगानी गर्ने राष्ट्रका रूपमा रहेको बताइन्। त्रिभुवन विमानस्थलको मर्मतसम्भार तथा गौतम बुद्ध विमानस्थल निर्माणमा चिनियाँ पक्षबाट महत्त्वपूर्ण योगदान भइरहेको छ।

राजदूत होउले चीन सरकारले दिएको कार्यकाल सम्पन्न गरेर मात्र आफू स्वदेश फर्कने स्पष्ट पारिन्। चिनियाँ राजदूत छिट्टै फर्कने हल्ला चलिरहेको प्रसंगमा उनले भनिन्, ‘यस्तो हल्ला गलत हो। म पूरै कार्यकाल काम गरेर फर्किनेछु।’ बेइजिङले एक वर्षअघि उनलाई पठाएको थियो। होउ नेपालमा सक्रिय राजदूतमध्येमा पर्छिन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७