२६ वर्षमा चार करोड ६८ लाख कालोधन जम्मा पार्ने उपसचिवविरुद्ध मुद्दा दर्ता


२० पुष २०७६, आईतवार
rajendra dungana

काठमाडौं २० पुस । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक पदधारण गरेको २६ वर्षमा चार करोड ६८ लाख ४८ हजार अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ । नयाँ पत्रिकामा खबर छ ।

उपसचिव ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा भएको छानबिनमा उनले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको हो ।

अख्तियारले ढुंगानाले निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ । तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । अख्तियारले स्रोत नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ढुंगानाले गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी गरेको छ । साथै, उनकी श्रीमती मधु कोइरालाको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । पदको दुरुपयोग गरी आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत राखिएको पाइएपछि अख्तियारले त्यस्तो मागदाबी गरेको हो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७