सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ : कांग्रेस प्रवक्ता


२० पुष २०७६, आईतवार
bishwa 1

मुग्लिन, २० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे ।

उनले भने, ‘ शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ । सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनु पर्छ ।’
प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताए । विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै धन्यवाद दिए ।

स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने महानुभावलाई सम्मान समेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७