आज राष्ट्रियसभा मनोनयन : नेकपा प्रवक्ता नारायणकाजीले गराए पाेखरामा उम्मेद्वारी दर्ता


२० पुष २०७६, आईतवार
narayan

पोखरा, २० पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज (आइतबार) राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् ।

नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो । माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनु पर्छ ।

प्रदेश नम्बर १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृत कार्यालयबाट उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारले १० हजार रूपैयाँ धरौटी बुझाउनु पर्नेछ । महिला, दलित र अल्पसंख्यकलाई भने आयोगले ५० प्रतिशत छुट दिने भएको छ । तर आर्थिक रूपमा विपन्न भन्ने प्रमाणित गरेको काजगात चाहिन्छ ।

मनोनयन दर्ताका लागि नागरिकताको फोटोकपी, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेश गर्नुपर्ने हुन्छ । दलका उम्मेद्वारको हकमा दलले दिएको आधिकारिक पत्र पनि समावेश गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको आयोगबाट प्राप्त पत्र चाहिन्छ भने लाभको पदमा भए राजीनामा दिनुपर्ने हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाले तालमेल गरेका छन् । यहीं नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिट बाँड्ने गरी तालमेल गरेका छन् । दलहरूले उम्मेदवार तय गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७