जापानले माग्यो २३ सय नेपाली कामदार


२० पुष २०७६, आईतवार
Japan 1

काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।

जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ ।

कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २०० अङ्क ल्याउनुपर्ने छ ।

परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ ।

फाउण्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए ।

नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गत वर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७