म्याद नाघेका ग्याँस सिलिण्डर छ्यापछ्याप्ती, जोखिम बढ्दो


२० पुष २०७६, आईतवार
gass
फाइल फोटो

बाँके, २० पुस । बाँकेको नेपालगञ्जमा म्याद नाघेका ग्याँस सिलिण्डर छ्यापछ्याप्ती भेटिने गरेका छन् ।

ग्याँस बिक्रेताले पुराना ग्यास सिलिण्डरमा रङरोगन गरी नयाँ देखाउँदै ग्याँस भरेर बिक्री गर्दै आएका छन् । यसले ग्याँस उपभोक्ता आमनागरिक उच्च जोखिममा देखिएका छन् । यस्ता कामको नियमन गर्ने निकाय स्थानीय प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्चलगायतका निकायहरू मौन देखिएका छन् ।

उपभोक्ताको ज्यानै जोखिममा हुँदा समेत उनीहरूले बजार अनुगमन समेत गर्न चासो देखाएका छैनन् । बजार अनुगमनका लागि नेपालगञ्ज उपमहानगरपालिकामा गठित नगर उपभोक्ता हकहित मञ्च समेत मौन छ । कामै नगरी ठूलो उपलब्धिको अपेक्षा गर्ने उपभोक्ता हकहित संरक्षण मञ्च निष्क्रिय जस्तै भएकाले बजार अनुगमन हुन नसकेको उपभोक्ताहरूको गुनासो छ ।

बजार अनुगमन नहुँदा उपभोक्ता जोखिममा परेको नेपालगञ्ज–४ का स्थानीय प्रेमबहादुर शाहीको भनाइ छ । एउटा सिलिण्डर उत्पादन भएको १० वर्षसम्म मात्र प्रयोग गर्न पाउने कानूनी व्यवस्था रहेको छ । बाँकेका ग्याँस उद्योगीले १० वर्षभन्दा पुराना सिलिन्डरमा ग्याँस बिक्री गर्दै आएका छन् ।

यहाँका तीन वटा ग्याँस उद्योगले ६९५ थोक बिक्रेतामार्फत खाना पकाउने ग्याँस बिक्री गर्दै आएका छन् । नियमनकारी निकायले ग्याँस सिलिण्डरको वास्तविक अवस्था बुझ्न नसक्दा ग्याँस उद्योगले मनोमानी तरिकाले ग्याँस सिलिण्डर बजारमा पठाउने गरेका छन् ।

ग्याँस सिलिण्डरमा तौल, उत्पादन मिति र म्याद जाने मिति स्पष्ट देखिने गरी लेख्नुपर्ने नियम भए पनि यहाँका अधिकांश ग्याँस सिलिण्डरमा कुनै चिह्न नदेखिएको उपभोक्ताको भनाइ छ । नियमनकारी निकायले अनुगमन नगरेका कारण बाँकेमा रहेका तीनवटै ग्याँस उद्योगले आफूखुशी सिलिण्डर खराब भएको प्रमाणित गर्दै आएका छन् ।

सोही अनुसार नियमनकारी निकायलाई सिलिण्डरको अवस्थाका बारेमा जानकारी गराउँदै आएका छन् । प्रशासन र नियमनकारी अन्य निकायसँग कति परिमाणमा खराब सिलिण्डर बाँकेमा छन् भन्ने यकिन तथ्याङ्क छैन । उद्योगीका अनुसार बाँकेमा भेरी ग्याँस उद्योगको २९६, मनकामना ग्यास उद्योगको ३८४ र राप्तीको १२४ वटा सिलिण्डर खराब भएका छन् ।

‘एउटा ग्याँस सिलिण्डरको आयु दश वर्ष हो तर यहाँ २०–२५ वर्षदेखि प्रयोग गर्दै आएका छन्’, उपभोक्ता अधिकारकर्मी प्रभात ठकुरीले भने । उनका अनुसार उद्योगीले पुराना सिलिण्डरमा ग्याँस भरेर बजारमा पठाउँदा कुनै पनि समय दुर्घटना भई धनजनको क्षति हुने खतरा बढेको छ ।

सिलिण्डरको दश वर्षपछि हाइड्रोलिक परीक्षण गर्नुपर्ने र राम्रो अवस्था भएमा पाँच वर्ष म्याद थप्न सकिन्छ । हाइड्रोलिक परीक्षण गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः पाँच वर्षसम्म प्रयोग गर्न पाइने मापदण्ड रहेको छ । यहाँका ग्याँस उद्योगहरुले हाइड्रोलिक परीक्षण नगरी बजारमा सिलिण्डर पठाइरहेको पाइएको छ ।

सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वेल्डिङ गरेर प्रयोग गर्न पाइँदैन । पुराना र खिया लागेका सिलिण्डरमा पुनः रङ गरेर बजारमा पठाउने गरेको स्वयं उद्योगीहरु बताउँछन् । दश वर्ष नपुगेका सिलिण्डरमा खिया लागेमा पुनः रङ गरेर बजारमा पठाउने गरिएको भेरी ग्याँस उद्योगका प्रबन्धक आदेश यादवले बताए ।

भेरी ग्याँस उद्योगमा अहिलेसम्म म्याद गुज्रेका मात्र २९६ थान सिलिण्डर छन् । यस उद्योगको क्षमता ५५० मेट्रिक टन छ । त्यस्तै २२० अधिकृत बिक्रेता रहेको मनकामना ग्यास उद्योगमा तीन लाख ३५ हजार सिलिण्डर बजारमा छन् । राप्ती ग्याँस उद्योगका १३४ अधिकृत बिक्रेता छन् भने एक लाख ८४ हजार सिलिन्डर बजारमा छन् । यसको क्षमता १०० मेट्रिक टन छ ।

ग्याँस उद्योगहरुले म्याद नाघेका ग्यास सिलिण्डरको सट्टा बजारमा नयाँ सिलिण्डर पठाउनुपर्ने र यस विषयमा उपभोक्ता स्वयं पनि सचेत बन्नुपर्ने आवश्यकता रहेको छ । लापरवाही र हेलचक्र्याइले कुनै पनि समय आउन सक्ने गम्भीर परिणामप्रति सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७