सुनको भाउ अहिलेसम्मकै उच्च, २० दिनमै चार हजारले वृद्धि


२० पुष २०७६, आईतवार
gold

काठमाडौं, २० पुस । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धि भई तोलामा रु ७५ हजार ५०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य रु ७४ हजार २०० थियो । चाँदीको मूल्य भने प्रतितोला रु ९०० मा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य रु ९०० नै थियो ।

यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला रु चार हजारले वृद्धि भएको छ । पुस १ गते प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ५० ले वृद्धि भएको छ ।

महासङ्का अनुसार गत मंसिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । गत मंसिर १ गते छापावाल सुन प्रतितोला रु ७१ हजार ८००, तेजाबी सुन, रु ७१ हजार ५०० र चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो । सोही महिनाको २० गते छापावाला सुन प्रतितोला रु ७१ हजार ७००, तेजावी सुन रु ७१ हजार ४०० र चाँदी रु ८५० मा कारोबार भएको थियो ।

एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन रु तीन हजार ८०० ले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजार समेतमा परेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७