सर्वोच्चको आदेश विपरीत जोरपाटी-सुन्दरीजल सडक विस्तार नगर्न माग


२० पुष २०७६, आईतवार
sankhu sadak

काठमाडौं, २० पुस । सर्वोच्च अदालतको आदेश विपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ ।

सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए । दुई पक्षको विवादका कारण केहीबेर सडक समेत अवरुद्ध भएको थियो ।

निजी जग्गा भएको स्थानमा जग्गाधनीसँग सहमति भए मात्र केन्द्रविन्दुबाट दायाँ–बायाँ सात–सात मिटर गरी १४ मिटरको र सरकारी एवं सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रबाट दायाँ–बायाँ ११–११ मिटर गरी २२ मिटरको सडक बनाउने सहमति सरोकार भएका निकायबीच भएको थियो ।

सहमति विपरीत आज बिहान निर्माण व्यवसायीले गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीमा एकपक्षीयरूपमा बलजफ्ती विस्तार गर्न खोजेको स्थानीयवासी कमला श्रेष्ठले बताए । चावहिल–साँखु र कलङ्की–थानकोट सडक किनारका घर एवं जग्गाधनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २०७४ असोजमा मुआब्जा नदिई सडक विस्तार नगर्न सरकारका नाममा आदेश दिएको थियो । आदेश विपरीत आधिकारिक निकायले नापजाँच नगरी निर्माण व्यवसायीले विस्तार गर्न खोजे अदालत जान बाध्य हुनुपर्ने उनले बताए ।

सडक पीडितले आजै नगर प्रमुख सन्तोष चालिसेलाई भेटी निजी सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैलाई नभएको भन्दै ध्यानाकर्षण गराएको समितिका सचिव सुशील सिम्खडाले जानकारी दिए । नगर प्रमुख चालिसेले विवाद भएका स्थानमा आपसी छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् ।

सङ्घर्ष समितिले भने एकपक्षीयरुपमा सहमति विपरीत काम गर्न थाले सामूहिकरूपमा न्यायालयको ढोका ढक्ढक्याउने जनाएको छ । संविधान प्रदत्त निजी सम्पत्तिको हकको हनन् हुने जुनसुकै हर्कत रोक्न समितिले नगरपालिकासँग माग गरेको छ ।

चार वर्ष अघि नै ठेक्का भएको सात किमी जोरपाटी–सुन्दरीजल सडक दुई पटक म्याद थप्दा पनि अलपत्र छ । यो मार्गमा पर्ने करिब ९०० घरका धनीले आफ्नो आवासको हक हनन् हुने गरी सडक बनाउन नदिने भन्दै विरोध जनाउँदै आएका छन् ।

निर्माण व्यवसायीले भने सार्वजकि जग्गा भएको स्थानमा पनि काम नगर्दा सडक जीर्ण बन्दै गएको छ । नेपाल भ्रमण वर्ष शुरु भए पनि पर्यटकीयस्थल सुन्दरीजल जाने सडक बन्न सकेको छैन । यो सडकबाट विदेशी एवं आन्तरिक पर्यटक शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रा जाने गर्छन् ।

यसैगरी चिासापानी, मेलम्ची, हेलम्बु, नगरकोटलगायत पर्यटकीयस्थलमा पनि यो मार्गबाट पदयात्रा हुने गरेको छ । सडकको अवस्था बिग्रँदै गएपछि पर्यटक आवागमनमा कमी भएको बेला सरकारले भ्रमण वर्ष घोषणा गरेकामा स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले आश्चर्य प्रकट गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७