आँबुखैरेनीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु


२१ पुष २०७६, सोमबार
Chituwa Tanahu

काठमाडौं, २१ पुस । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।
आँबुखैरेनी गाउँपालिका-१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।

वन मौरीको टोकाइबाट एकको मृत्यु

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७