हङकङमा नेपाल भ्रमण वर्ष-२०२० को भव्य शुभारम्भ


२२ पुष २०७६, मंगलवार
visit nepal 2020 in hongkon

हङकङ, २२ पुस : हङकङमा नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि हङकङमा कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गरेकी थिइन्। हङकङस्थित नेपाली महावाणिज्यदूतावासको आयोजना, गैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सहआयोजनामा भएको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू आआफ्नो जातीय भेषभुषामा सजिएर सहभागी भएका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुला बसमा नेपाल भ्रमण वर्ष प्रवद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रमा गरिएको थियो।

नेपाल भ्रमण वर्ष प्रवद्र्धन समितिका सदस्यसचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार हङकङको निकै व्यस्त सहर सेन्टलमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति थियो। हङकङको सेन्टल सहर पर्यटकीय क्षेत्रको रूपमा प्रख्यात छ।

निकै व्यस्त सहर हङकङमा यो कार्यक्रमले लाखौ माझ नेपाल भ्रमण वर्ष २०२० को प्रचार भएको आयोजकले जनाएको छ। हङकङमा खुला बसमा कहिल्यै पनि यसरी प्रचार गरिएको थिएन। ठूल्ठूला बसमा भिजिट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, व्यापारी तथा सर्वसाधारणले निकै उत्सुकतापूर्वक चासो दिदैं प्रचार अभियानलाई सकारात्मक रूपमा लिएको र नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए।

यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन समिति हङकङ गठन गरिएको थियो। नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहने गरी सहआयोजक तथा सदस्यसचिवका रूपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमलाई राखिएको थियो।

त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल चेम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मन्च हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई राखिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७