इरानसँगको तनावमा ट्रम्पको लचिलो सम्बोधन, थप युद्धको पक्षमा नरहेको संकेत

भने, ‘अमेरिका सबैखाले परिस्थितीसँग जुँध्न तयार छ, तर इरान गलेजस्तो छ’


२३ पुष २०७६, बुधबार
Donald Trump speaks at the White House on Wednesday in Washington

काठमाडौं, २३ पुस :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसँगको थप तनावको पक्षमा नरहेको संकेत गरेका छन् । ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला अहिले इरान पछि हटेको र याे सबै पक्षका लागि राम्रो र संसारका लागि झनै राम्रो भएको बताएका हुन् ।

गएराती इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ मिसाइल प्रहार गरेपछि मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरान यतिबेला गलेको र थप तनाव नचाहेको जस्तो देखिएको बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएको थियो । जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जनभन्दा बढी मिसाइल हमला गरेपछि द्वन्द्व चर्किएको थियो । यो तनावपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो ।

Donald Trump speaks at the White House on Wednesday in Washington DC.

राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला उनले सम्बोधनमा भनेका छन्,‘अमेरिकी सेना सबैखाले परिस्थितीसँग जुँध्न तयार छ तर इरान युद्धको मानसिकता छाडेको जस्तो देखिएको छ ।’

राष्ट्रपति ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफू तयार रहेको बताए । तर, इरानलाई आणविक हतियार विकास गर्न कुनै पनि हालतमा नदिने बताए । उनले भने, ‘म राष्ट्रपति भएसम्म इरानलाई कुनै पनि हालतमा पनि आणविक हतियार राख्ने अनुमति दिइने छैन ।’

इरानले गरेको आक्रमणमा अमेरिकाका कुनैपनि सैनिकको हताहत नभएको उनले बताए । ‘अमेरिकी सैनिक अड्डामा केही सामान्य क्षति भयो। तर कोही हताहत भएनन्,’ उनले भने। आफूले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने क्षमता भएको बताउँदै अमेरिकी राष्ट्रपतिले आफूले सो गर्न नचाहेको र अहिलेको समस्या समाप्त गर्न चाहेको बताएका छन् ।

ट्रम्पले गत साता अमेरिकी कारबाहीका क्रममा मारिएका इरानी सैन्य कमाण्डर सुलेमानी ‘विश्वकै शीर्ष आतंककारी’ भएको बताएका छन् । उनले भने, ‘उनले आतंककारी सेनालाई तालिम दिने र युद्धमा पठाउने काम गर्थे । उनले हजारौं अमेरिकी सेनाको हत्या गरेको र घाइते पारेका थिए । यससँगै उनले सडक छेउमा बम राख्‍ने कामसमेत गर्थे ।’ इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मारिनुपर्ने पनि उनले बताए।

सम्बोधनमा उनले अमेरिकालाई मध्यपूर्वको तेल आवश्यक नभएको पनि तर्क गरे । अमेरिका अहिले इन्धन र ग्यास उत्पादनमा विश्वकै नम्बर १ उत्पादक रहेको बताउँदै इरानविरुद्धको यो कारवाही तेलका लागि नभएको जिकिरसमेत गरे ।

उनले इरानी जनतालाई सन्देश दिँदैहरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भावको कामना समेत गरे । भने, ‘इरानी जनता र नेताहरु तपाईंहरुको भविष्य छ, राम्रो भविष्य छ र त्यो तपाईंले पाउनुपर्छ । हरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भाव होस् भन्‍ने चाहन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७