प्रदेश-३ नेकपा संसदीय दलको वैठक : नाम र राजधानीबारे गर्न सकेन निर्णय


२४ पुष २०७६, बिहीबार
pr3

मकवानपुर, २४ पुस । प्रदेश–३ को नाम राजधानीको मुद्दा थप पेचिलो बन्दै गएको छ । 

आफ्नो प्रदेशको नाम र राजधानीमा सचिवालयको निर्देशनअनुसार प्रदेश सांसदलाई ह्वीप लगाउनेबारे प्रदेश–३ को नेकपा संसदीय दलको बैठकले कुनै निर्णय गर्न सकेन । 

बिहीबार बिहान बसेको संसदीय दलको बैठकमा शीर्ष नेतृत्वले नाम बागमती र  राजधानी हेटौंडा राख्न दिएको निर्देशनबारे छलफल भए पनि कुनै निर्णय नभएको  प्रदेश सभा सदस्य केशव स्थापितले जानकारी दिएका छन् ।

‘आज शीर्ष नेताहरूले भनेका कुराहरू साथीहरूलाई भन्ने काम भयो । ह्वीप लगाउने–नलगाउनेबारे केही निर्णय भएन,’ स्थापितले भने, ‘शुक्रबार ११ बजे फेरि बैठक बस्ने छ ।’ नेकपा संसदीय दलको ह्वीप लगाउने निर्णय नगरेकाले आज बस्ने प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो नलगाउने भएको छ । प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ ।

गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश–३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो । सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधीकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरुलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

दुई अध्यक्षसँगको भेटमा प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी निर्णय व्यवहारिक नभएको बताएका थिए । अध्यक्षहरूले भने पार्टी निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका थिए । प्रदेश सांसद समेत रहेका नेकपा नेता पशुपति चौलागाईंले पार्टी निर्णय व्यवहारिक नभएपनि पार्टीको निर्णय अनुसार नै प्रदेशको नाम र राजधानी कायम हुने बताएका छन् ।

‘पार्टीभत्र बहस र छलफल भयो । सांसदहरुले पनि यो निर्णयको विरोध गरेका छन् । हामीले आफ्ना असहमतीहरु पनि दर्ज गरेका छौ । नेताहरुलाई हामीले हाम्रा कुरा भन्यौं,’ चौलागाईंले भने, ‘अब प्रदेशको नाम र राजधानीका लागि पार्टी निर्णय कार्यान्वयन गराउन ह्वीप जारी हुन्छ ।’

प्रदेश सरकारले यही हप्ता प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ । प्रदेश–३ को संसद ११० सदस्यीय छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । २ तिहाई पुग्न ७४ जना सांसद आवश्यक पर्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७