मैदानमै मुक्का हानाहान गरेपछि जगजित श्रेष्ठसहित ६ खेलाडीलाई कारबाही


२४ पुष २०७६, बिहीबार
Manang marsyandi Vs Machhindra club 13

काठमाडौं, २४ पुस । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा खेलाडीले मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडी कारबाहीमा परेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)को एन्फाको अनुशासन समितिले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो।

एन्फाले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५-५ खेलको प्रतिबन्ध गरेको छ। जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ।

यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २–२ खेलको प्रतिबन्ध लगाइएको छ।

मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

यस्तै दुवै क्लबलाई ५०-५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

कसलाई के कारबाही ?
जगजित श्रेष्ठ – मनाङ मर्स्याङ्दी क्लब – ५ खेल प्रतिबन्ध, १० हजार जरिबाना 
अशोक बराल – मनाङ मर्स्याङ्दी क्लब –  ६ खेल प्रतिबन्ध (रातो कार्ड समेत), १० हजार जरिबाना 
दीपक रा‍ई – मच्छिन्द्र क्लब – २ खेल प्रतिबन्ध
रञ्जन विष्ट – मनाङ मर्स्याङ्दी क्लब – २ खेल प्रतिबन्ध
देवेन्द्र तामाङ – मच्छिन्द्र क्लब – २ खेल प्रतिबन्ध
विजय धिमाल – मच्छिन्द्र – २ खेल प्रतिबन्ध
शिव लामा – मनाङका व्यवस्थापक – लिगका बाँकी खेलमा प्रतिबन्ध, १० हजार जरिबना

 

मैदानमा भएको के थियो ?

लिगमा उपाधि दावेदार तथा हाल दुई शीर्ष टोली मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल रोमान्चक हुने अपेक्षा थियो । खेल पनि त्यस्तै भयो । रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि । तर फाइनल व्हिसल बजेलगत्तै रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपास हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिएका थिए ।

दुवै टोलीले अग्रता लिएर पनि २-२ मा सकिएको खेलको रोमान्च एकाएक तनावको स्थितिमा पुग्यो । मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केहि अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहिले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लियो ।

जगजितले पुनस् दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर त्यसबेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केहि अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो । मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।

यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मे हम्मे परेको थियो । रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७