नेकपामा सभामुख किचलो : प्रचण्ड भन्छन्,‘ओलीजीले मलाई सुन्दै सुन्नुहुन्न


२५ पुष २०७६, शुक्रबार
oli prachanda

काठमाडौं, २५ पुस ।
नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किंदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरूले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ ।


त्यसको पछिल्लो संस्करण हो– नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार साँझ भएको छलफल । ‘सभामुख पार्टी एकताको समीकरणमा असर नपर्ने गरी छान्नुपर्छ भन्ने विषयमा एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने, ‘त्यसो हुँदा प्रधानमन्त्रीजीले आफ्नो अडान छाड्नुपर्छ ।’ बैठकमा गौतमबाहेक अरू नेताले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने दाहालको कुरामा समर्थन जनाएका थिए । ‘मैले पूर्वमाओवादीबाटै हुनुपर्छ भनेको छु तर ओलीजीले सुन्दै सुन्नुहुन्न । यसले त पार्टी एकतामै असर पार्ने भयो नि,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

पुरानै सहमतिअनुसार सभामुख पूर्वमाओवादीलाई दिने विषयमा ओलीलाई मनाउने जिम्मा अर्का अध्यक्ष दाहाललाई नै दिएको ती नेताले बताए । ‘पहिले दुई अध्यक्षले छलफल गरेर सहमति निकालून्,’ उनले भने, ‘भएन भने सचिवालयमा औपचारिक रूपमा प्रस्ताव आउनुपर्छ । हामी निर्णय गर्छौं ।’

ती नेताका अनुसार यसअघि पटकपटक सभामुख भइसकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्रीले किन अडान लिइरहेका छन् भन्नेबारे पनि कुराकानी भएको थियो । ‘प्रधानमन्त्री बारम्बार नेम्वाङलाई कसरी व्यवस्थापन गरौं भनिरहनुहुन्छ, उहाँ जिम्मेवार ठाउँमा हुनुहुन्छ,’ दाहालले बैठकमा भनेका थिए, ‘ओलीजीले नेम्वाङका विषयमा किन यति धेरै अडान राख्नुभएको छ, मैले बुझ्न सकिरहेको छैन ।’ तर ओलीनिकट स्रोतका अनुसार केही समयअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले नेम्वाङलाई भावी सभामुखका रूपमा तयारी अवस्थामा बस्न भनेका थिए । ‘दाहाल किन एकाएक परिवर्तन हुनुभएको हो, हामीले पनि बुझ्न सकेका छैनौं,’ स्रोतले भन्यो ।

सुरुमा दाहाल नेम्वाङलाई सभामुख बनाउन सहमत भए पनि पछि पूर्वमाओवादीकै नेताहरूले पूर्वएमालेमा समाहित भएको सन्देश जाने गरी नझुक्न दबाब दिएपछि उनको मनस्थिति फेरिएको एक थरीको बुझाइ छ । गत सोमबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा दाहालले ‘सभामुखबारे तपाईंको त्यति धेरै अडान छ भने पार्टीको कार्यकारी हुनुस् म प्रधानमन्त्री हुन्छु’ सम्म भनेका थिए । उनले यसबारे पनि बुधबारको उक्त भेलामा ब्रिफिङ गरेका थिए । सभामुखको उम्मेदवार तयार नहुँदा प्रधानमन्त्री ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा रोकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७