सभापतिसँग पार्टी सञ्चालनको योजना नै छैन : डा. शशाङ्क कोइराला
‘नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको हुँ’

चितवन, २६ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।
उनले भने, ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।’ शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो ।
अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको कोइरालाले बताए ।
सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो ।