आन्दोलनकारी नै स्थापना गरे सात प्रदेश ‘मन्त्रालय’


२० पुष २०७४, बिहीबार
doti

डोटी : सरकारले सिफारिस गरेको अस्थायी राजधानीको विरोधमा उत्रिएका डोटीका आन्दोलनकारीले आफै प्रदेश ७ को राजधानी र मन्त्रालय स्थापना गरेका छन् ।doti

आन्दोलनकारीले बिहीबार दिपायलस्थित क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका साईन वोर्ड लगाएका छन् । साथै जिल्लाका सरकारी कार्यालयमा तालाबन्दी समेत गरेका छन् । प्रदर्शनकारीले राजपुरमा रहेका क्षेत्रीय कार्यालयका भवनहरुमा बिभिन्न प्रादेशिक मन्त्रालयका साईन वोर्ड झुण्ड्याएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको नव निर्मित भवनमा प्रदेशसभा सचिवायल तथा मुख्यमन्त्रीको कार्यालयको साईन वोर्ड राखिएको छ । यस्तै क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालयको वोर्ड झुण्ड्याइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक बिकास मन्त्रालय, खानेपानी कार्यालयको भवनमा अर्थ मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा भौतिक पूर्वाधार मन्त्रालयका साईनवोर्ड राखिएका छन् । आन्दोलनकारीहरुले क्षेत्रीय पशुसेवा निर्देशनालयमा बन, बिज्ञान तथा भूमि सुधार मन्त्रालय र कृषि निर्देशनालयको भवनमा कृषि, पशु तथा सहकारी मन्त्रालय स्थापना गरेका छन् । सरकारले आफ्नो अधिकार खोस्न थालेपछि आफूहरुले बाध्य भएर आन्दोलनबाटै मन्त्रालय स्थापना गर्नु परेको आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा तालावन्दीका लागि आन्दोलनकारी र प्रहरीकाबीच मुल गेट तानातान समेत भएको थियो । यस्तै आन्दोलनका क्रममा ठाउँ ठाउँमा सरकारको बिरुद्धमा पुत्ला दहन गरिएको छ । दिपायल र सिलगढीमा जुलुस प्रदर्शन गरिएको छ । दिपायलमा आन्दोलनकारीहरुले नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टको समेत पुत्ला दहन गरेका छन् । बिहीवार बिहान भट्टले एक रेडियो सम्वादमा दिपायल राजधानीका लागि उपयुक्त नभएको प्रतिक्रिया दिएपछि उनको पुत्ला दहन गरिएको हो ।
यस्तै सरकारले विराटनगरलाई प्रदेश राजधानी बनाउने तयारी गरेपछि धनकुटाबासी आन्दोलनमा उत्रिएका छन् । अहिले प्रदेश राजधानीकै कारण देशका विभिन्न जिल्लामा विरोधका कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७