यी अभागी आमा जसले सुत्केरी छोरी स्याहार्न पाइनन्


राजेश राई
प्रकाशित मिति : 12 January, 2020 1:58 am

२६ पुस २०७६ शनिबार । काठमाडौंको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त थियो । अस्पताल आन्दोलनकारी अर्थात् पिडितहरुको कब्जामा जस्तै थियो । अस्पतालका शिशाहरु सबै फुटेको थियो । तर, अस्पताल प्रशासनका अधिकारीहरु भने कोही थिएनन् । महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख डिएपसी रमेश सिंह अस्पताल प्रशासनका अधिकारीहरुसँग पिडितहरुलाई सम्पर्क गराउने प्रयासमा थिए । तर, सबै फोन समेत अफ गरेर सम्पर्क बाहिर बसेका थिए । पिडितहरुले नारा लागिरहेको थियो, ‘हत्यारालाई कारबाही गर ।’

७० वर्ष कटेकी मनकुमारी राई विक्षिप्त थिइन् । कहिले नारा लगाएको तिर पुग्थिन्, त कहिले ढिलमा बसेर बेसमरी रुन्थिन् । घरी टोलाएर बेहोस हुन खोज्थिन् । मनकुमारी राई एक साता अघि मात्रै संखुवासभाको सभापोखरीबाट काठमाडौं आइपुगेकी हुन् । भोजपुर षडानन्द नगरपालिका निवासी ज्वाई जीतबहादुर राई रोजगारीको क्रममा दुई महिना अघि मात्रै कतार गएका । ५ वर्षको सानो नातीको साथमा कान्छी छोरी काठमाडौंमा। चिकित्सकले दिएको समय अनुसार ‘डेलीभरी’को समय भएपछि २६ वर्षिय कान्छी छोरी सुनिता राई ‘सुनमाया’ले आमालाई काठमाडौं बोलाएकी थिइन् । कान्छी छोरीले भनेकी थिइन्, ‘आमा एक्लै छु । सुत्केरी भएको बेला हेर्न आउनुहोस् है ।’ मनकुमारी हुन्छ छोरी भनेर खुसी हुुदै काठमाडौं हान्निएर आएकी थिइन् ।

तीन छोरी मध्ये सुनमाया कान्छी छोरी । उनको मुटुको टुक्रा । भनिन्, ‘त्यो मेरो मुटुको टुक्रा थियो ।’ सुनमाया चिकित्सकहरुले दिएको समय अनुसार नै पुस २४ गते ‘डेलीभरी’को लागि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना हुन आइन् । आमा मनकुमारीले पनि छोरीसँगै अस्पताल जान्छु भनेकी थिइन् । तर, छोरीले भनिन्,‘आमा नातीलाई हेरेर बस्नुहोस् । म दिदिहरुसँग जान्छु । मलाई केही हुदैंन म आइहाल्छु ।’ घरबाट आफै हिडेर निस्केकी थिइन् सुनमाया ।मनकुमारीले भक्कानिएर भनिन्,‘मेरो कान्छीलाई केही भएको थिएन, स्वास्थ्य थिइन् ।’

मनकुमारी नातिनीको प्रतिक्षामा थिइन् । नातिनी जन्मेको खबर सुन्न आतुर थिइन् । तर, बिडम्बना नातिनी जन्मेको रात उनलाई यस्तो ब्रजपात आइलाग्यो । उनको मुटुको टुक्रा कान्छी छोरी सुनमाया सधैंका लागि बिदा भइन् । भनिन्, ‘बाबु पापीहरुले मेरो छोरी मारीदिएछन् ।’

दिदि फूलमायाका अनुसार सुनमायाको सामान्य रुपमा डेलिभरी भएको थियो । तर, सालनाल निकाल्न लापारवाहीपूर्वक भ्याकुम चलाउँदा सुनमायाको निधन भयो । सुनमायाको छोरी भने जिवित । दिदिका अनुसार भ्याकुमले सालनाल निकाल्न खोज्दा सुनमाया पीडाले चिच्चाएर रोइएकी थिएन् । डा.अमृता गिरी जसले सुरुदेखी सुनमायालाई हेरेकी थिइन् । चिच्चाएर डा.गिरीको हात समातेकी थिइन् । त्यो बेला डा. गिरीले हात झड्कारेर फाली दिइन् । मनकुमारीले रुदै भनिन्, ‘यी पापीहरुले मेरो छोरीलाई तड्पाएर मारेछन् ।’ मनकुमारी घरी घरी भक्कानिएर रुन्छिन् ।

सानो बच्चा अस्पतालको आइसियुमा छ । छोरीको लास अस्पतालमै । मनकुमारीको लागि काठमाडौं शहर धेरै बिरानो छ । सुत्केरी छोरी स्याहार्न आएकी मनकुमारीलाई यो बिरानो शहरमा दिन रात जस्तो भइरहेको छ । भनिन्,‘खोइ यो सपना हो की विपना जस्तो लागिरहेको छ मलाई ।’

‘अब अरु कसैको छोरी नमरोस्’

छोरी सुनमाया

चिकित्सकहरुको चरम लापरवाहीले सुनमायाको ज्यान गयो । आफन्ताहरुले यो लापरवाही चाल पाए । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज प्रशासनले भने त्यसै सामसुम पार्न खोजेका थिए । चरम लापारवाहीले सुनमाया ज्यान गएपछि अस्पताल प्रशासनले पिडितहरुहरुको कुरा सुन्नुको साटो बरु उल्टै सुनमायाको पार्थिव शरिर उठाउन र बच्चा लैजान दबाब दिए ।

पिडितलाई न्याय दिलाउनका लागि क्रियाशिल युवा नेता जीवन राईका अनुसार चिकित्सक र अस्पताल प्रशासनले घटनालाई सामसुम पार्न खोजेका थिए । भन्छन्, ‘उपचारको क्रममा चिकित्सकहरुको चरम लापरवाही देखियो । निधनपछि न्युनतम् मानवीय व्यवाहार समेत नगरी अस्पताल प्रशासन दादागिरीमा उत्रिएको देखियो ।’

त्यसो त शनिबार उनीहरुको न्यायको निम्ती भोजपुरका प्रदेशसभाका माननीय तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राई आफै फिल्डमा खटिरहेका थिए । मान्य राजेन्द्र राई सहितका नेताहरुलाई आमा मनकुमारी राईको एउटै अनुरोध थियो, ‘मेरो छोरी मार्नले अरुका पनि छोरी मार्न सक्छन् । तपाईहरु यसरी लागिदिनुहोस् भोली मैले जसरी कसैले पनि छोरी गुमाउन नपरोस् ।’

शनिबार दिनभरी जसो पिडितहरु अस्पताल घेरेर बसिरहे । तर, अस्पताल प्रशासनले पुरै वेवास्ता गरीरह्यो । पिडितलाई न्याय दिलाउन सक्रिय नेता सुरेन्द्र उदासका अनुसार दिनभरी अस्पताल आन्दोलनकारीले कब्जा गरेर बस्दा पनि अस्पताल व्यबस्थापन र प्रशासनका कोही सम्पर्कमा आएनन् । शनिबार साझ पिडितहरुको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धले अस्पताल प्रशासनका अधिकारीहरुलाई पक्रेर ल्याएपछि पनि पिडितहरुको माग सम्बोधन गर्न तयार भएका छैनन् ।

निरन्तर दबाबपछि पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि पिडित परिवारको आह्रवानमा आइतबार दिउँसो अस्पतालमा प्रदर्शनको तयारी गरेका छन् । त्यसो त मृतक सुनमायाकी आमाले शनिबार आएका सबै सहयोगीहरुलाई रुदै बोलाइरहेकी थिइन्, ‘पापीहरुले गर्दा मैले त छोरी गुमाएँ, अब कसैले गुमाउन नपरोस् । तपाईहरु आइतबार अत्तरखेल आइदिनुहोस् है।’

प्रतिक्रिया दिनुहोस्