कर्मचारीलाई बोनस बाँड्न आयल निगमले छुट्यायो चार करोड र पुरस्कार समेत


२७ पुष २०७६, आईतवार
70 Shares
nepaloil2020 01 12 06 20 02

काठमाडौं, २७ पुस । नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ ।

निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो । त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५० औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कार स्वरूप दिने घोषणा गरियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ । गत आव ०७५–७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ ।

jagdamba.cement
rbbbb

सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई चिठी पठाउने निर्णय समेत गरेको स्रोतले बतायो । ‘नाफाको एक प्रतिशत रकमबाट सबै कर्मचारीले एक महिना बराबरको रकम बोनसबापत पाउने गरी सञ्चालक समितिबाट निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न अर्थबाट सहमति लिन निगमले पत्राचार गर्ने भनिएको छ ।’

अर्थलाई पत्राचार गरिदिन निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोधसहितको पत्रसमेत पठाइसकेको छ । यस विषयमा २९ गते डाकिएको निगमको वार्षिक साधारणसभाबाट अन्तिम निर्णय गराउने निगमको योजना छ । स्रोतका अनुसार बोनस बाँड्न दिन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । निगमको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटा छन् ।

निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समिति अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बोनस वितरण गर्ने संकेत गरे । निगमका टे«ड युनियनका अध्यक्षहरू विकास बखती, गोपालचन्द्र राई र देवीप्रसाद न्यौपानेले ऐनअनुसार पाउनुपर्ने बोनस सुविधा नपाएको भन्दै गुनसो गरेका थिए ।

अर्यालले ऐन, नियमका प्रक्रिया पुर्‍याएर कार्यान्वयन गर्न लागिएको बताए । ‘कर्मचारीलाई सुविधा प्रदान गर्न ऐन–नियम बनेका छन् । त्यसलाई कार्यान्वयन गर्न बाधा पनि छ । त्यसैले केही समय धैर्य गर्नुस्,’ उनले भने, ‘बाधा पन्छाएर काम गर्नुपर्नेछ ।’

तर, आर्यालले बोनस बाँड्ने सञ्चालक समितिको निर्णय लुकाउन खोजे । ‘कार्यक्रममा मैले बोनसबारे केही उच्चारण गरेको छैन,’ उनले भने, ‘कर्मचारीको प्रोत्साहन प्याकेजबारे कुरा गरेको हुँ । सञ्चालक समितिबाट पनि बोनसबारे केही निर्णय भएको छैन ।’

एक महिनाको तलबबराबर प्रोत्साहन भत्तामा १ करोड
अर्यालले ५०औँ वार्षिकोत्सवमा सबै कर्मचारीलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता वितरण गर्ने बताए । सबै कर्मचारीलाई एक महिनाको तलबबराबर प्रोत्साहन भत्ता दिँदा करिब डेढ करोड रुपैयाँ खर्च हुने निगमले जनाएको छ ।

कर्मचारीलाई बोनस बाँड्न ३ अर्ब कोषमा, चार करोड बाँड्ने तयारी
आर्थिक वर्ष ०७१–७२ बाट नाफा आर्जन गर्न थालेको निगमले हालसम्म कर्मचारीलाई बोनस वितरण गर्नका लागि कोषमा ३ अर्ब रुपैयाँभन्दा बढी मौज्दात राखेको छ । निगमले चर्को नाफा राखेर पेट्रोलियम बिक्री गर्दै आएको र उपभोक्ताको ढाड सेकेर कर्मचारीले बोनस खान लागेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ । त्यसैले बोनसबापत बाँड्नुपर्ने रकम कोषमा जम्मा भएर बसेको छ ।

०६९ मा तत्कालीन महाप्रबन्धक सुरेश अग्रवालले कर्मचारीलाई १ करोड २४ लाख रुपैयाँ बोनस वितरण गर्दा जेल जानुपरेको थियो । त्यसैले उनी यताका महाप्रबन्धकहरू शिवप्रसाद पुडासैनी, जयराज आचार्य, चण्डिका भट्ट, गोपालबहादुर खड्का र सुशील भट्टराईले बोनस वितरण गर्ने हिम्मत गरेका थिएनन् ।

हालका प्रमुख सुरेन्द्रकुमार पौडेलले भने कानुनी प्रक्रिया पूरा गरेर बोनस वितरणको गृहकार्य अघि बढाउने कर्मचारीलाई आश्वासन दिएका थिए । बोनस ऐनले नाफा गरेको वर्षको १ प्रतिशत हुन आउने रकम बोनसबापत कर्मचारीलाई वितरण गर्न सक्ने व्यवस्था गरेको छ । तर, ऐनका विषयमा सरकारले निर्णय गरेबमोजिम हुनेछ भन्ने एक वाक्यांशसमेत राखिएको छ । जसकारण निगम प्रमुख पौडेललाई बोनस बाँड्न अर्थ मन्त्रालयको सहमति माग्नुपरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७